डीडीसीले आजबाट दुध किसानको पैसा दिँदै, तत्काल ४० करोड बाँडिने



काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी)ले दुध खरिद गरेवापत पैसा दिन बाँकी रहेको किसानलाई बिहीबारदेखि भुक्तानी दिने तयारी गरेको छ ।

दुध खरिद गरेवापत गत साउनदेखि नै डीडीसीले किसानलाई भुक्तानी गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल र निवर्तमान कृषि तथा पशुपन्छी बेदुराम भुसाल र अर्थमन्त्री डा.प्रकाशशरण महतले चैत महिनाभित्र जसरी पनि किसानको रकम भुक्तानी गर्ने सार्वजनिक रुपमा भाषण दिएपनि करिब एक साता ढिलो गरी किसानलाई भुक्तानी गर्न लागिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले डीडीसीलाई ५ प्रतिशत व्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराएपछि किसानलाई भुक्तानी गर्न लागिएको हो ।

अर्थले डीडीसीलाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले उपलब्ध गराएको ३० करोड रुपैयाँमा डीडीसीले आन्तरिक स्रोतबाट १० करोड थप गरि कूल ४० करोड रुपैयाँ तत्कालको लागि किसानलाई बितरण गर्न लागेको हो ।

डीडीसीले किसानलाई १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस्तै निजी क्षेत्रका डेरी उद्योगले अहिलेसम्म करिब ४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । डीडीसीले ४० करोड भुक्तानी गरेर बाँकी रहेको रकम पनि भण्डारण गृहमा थन्किएको मख्खन र पाउडर दुध बिक्री गरेर क्रमिक रुपमा भुक्तानी गर्दै जाने जानकारी दिएको छ ।


क्लिकमान्डु