नेप्से २००० बिन्दुभन्दा तल, मूल्य र काराेबार रकमका आधारमा गोर्खाज फाइनान्स अगाडि



काठमाडौं । करिब डेढ महिनापछि नेप्से परिसूचक २००० बिन्दुभन्दा तल झरेको छ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएर नेप्से १९९१.७१ अंकमा कायम भएको हो ।

गत फागुन २० गते नेप्से १९६० अंकबाट उकालो लागेयता २००० भन्दा तल झरेको थिए । मंगलबार कारोबारमा आएका १ सय ९९ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा १४.८१ अंकको गिरावट आएको हो । यसदिन ४२ कम्पनीको मूल्य बढे भने ३ वटाको यथावत रहे ।

कारोबारमा आएकामध्ये सबैभन्दा बढी एसबीएल डिबेन्चरधनीले सर्वाधिक कमाए । सो डिबेन्चरको इकाइ मूल्य करिब १० प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्सको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ । बढी कमाउनेको सूचीमा सिभिल बैंक डिबेन्चरको इकाइ धनी तथा ग्रिन डेभलपमेन्ट बैंक र दिव्येश्वरी फाइनान्सको सेयरधनी अटाए ।

यता रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । पोखरा फाइनान्स, सीवाईसी लघुवित्त, दोल्ती पावर र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य पनि सर्वाधिक घट्नेमा परेको छ । बलेफी हाइड्रो, बुटवल पावर र सिंगटी हाएड्रोको सेयर मूल्य भने घटबढ भएन ।

कारोबार सुरु भएदेखि नै ओरालो यात्रा तय गरेको नेप्सेले पहिलो घन्टा र अन्तिममा बढ्ने सामान्य प्रयास गरेपनि हरियो बन्न सकेन । नेप्से ०.७३ प्रतिशतले घट्दा बजारमा २ अर्ब १० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भयो । सोक्रममा ३९ हजार ४ सय ७६ कारोबारमार्फत् ३ सय १२ स्क्रिप्टका ५४ लाख ७१ हजार कित्ता सेयर कारोबारमा आए ।

कारोबार रकम सोमबारको भन्दा ६९ करोड कम हो ।

सबैभन्दा बढी सेयर कारोबार गोर्खाज फाइनान्सको भएको छ । कम्पनीको १७ करोड ५९ लाखको सेयर किनबेच हुँदा कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ, पोखरा फाइनान्स, सर्वोत्तम सिमेन्ट र शिभम् सिमेन्ट शीर्ष ५ मा अटाए ।

यसदिन समूहगत उपसूचक सबै रातो बने । सबैभन्दा बढी गिरावट जलविद्युत समूहमा आयो ।

नेप्से घटेको दिन बजार पुँजीकरण ३१ खर्ब ५८ अर्ब १० करोड रुपैयाँ कामय भएको छ । लगानीकर्ताको कुल सम्पत्ति अघिल्लो दिनको भन्दा २३ अर्ब ४८ करोडले घटेको हो ।


क्लिकमान्डु