देशमा राजतन्त्र फर्काउने कुरा असम्भव: देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताए ।

विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए ।

‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ति राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुपर्‍यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्‍यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन,’ उनले भने ।

विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए ।

‘धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले । यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । हिजो बन्दुक उठाएकाहरु पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ । युद्धलाई सबैले छोडेको छ । त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ’ उनले भने ।

सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भुमिका रहेको बताए ।


क्लिकमान्डु