वार्षिक ३ करोड रुपैयाँमा ५ वर्षका लागि बेचिएको थियो काभ्रेमा काटिएको बोधिचित्तको रूख



धुलिखेल । काभ्रेपलाञ्चोकमा बुद्धचित्तको बोट काटेर एक घरमा चारवटा सकेट बम राखेको फेला परेको घटना सार्वजनिक भएको छ ।

फूल फुल्नुअघि नै बोट काटिएको अवस्थामा फेला परेको हो । बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग गर्ने गरेका छन् ।

शुक्रबार बिहान करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीस्थित रुख धनी शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको मालाको बोट काटिएको थियो ।

करिब ३ महिनाअघि सन्दीप त्रिपाठीलाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा लागेको थियो । गत वर्ष भने उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा लगाइएको थियो ।

‘पाँच वर्षका लागि वार्षिक तीन करोड रुपैयाँ दिने गरी सम्झौता भएको थियो’, रुख धनी तामाङले भने, ‘अहिले रुखमा फूल फूल्दै थियो, फल्नुअघि नै रुख काटिदिए ।’

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले फूल फूल्ने बेलामा कसले र किन रुख काट्यो भन्ने विषयमा अनुसन्धान सुरु भएको बताए ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएको छ । व्यवसायी मानबहादुर तामाङलाई प्रहरीले उनलाई सोधपुछ गरिरहेको छ ।

उनले उक्त रुख आफूलाई ठेक्कामा दिन घर धनीलाई भनेका थिए । तर उनीसँग कुरा नमिलेपछि अर्को पक्षले रुखको ठेक्का पाएको थियो ।

रुख काट्न गएको समूहले घर बाहिर बमसमेत राखेको प्रहरीले जनाएको छ । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय मंगलटारबाट बिहान साढे २ बजे टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी घटनास्थल पुग्दा बुद्धचित्तको बोट काटिएको अवस्थामा थियो भने घरको आँगनमा चारवटा घरेलु सकेट बम फेला परेको थियो ।


क्लिकमान्डु