५० लाख खर्चेर काठमाडौं महानगरले भित्तामा बनाउन थाल्यो चित्र, यी स्थानमा बनाइने (तस्बिरहरु)



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका भित्तालाई चित्रले रङ्ग्याउन थालेको छ । फोहोर , पोस्टर टास्ने, अनावश्यक लेख्ने भित्ताहरुलाई मध्यनजर गर्दै महानगरले वाल आर्ट गर्न थालेको हो ।

काठमाडौं महानगरको संस्कृति झल्किने भित्ताहरुमा बिभिन्न कलात्मक सामाग्रीहरु रङ्ग्याउन थालिएको हो ।

काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्तेचित्र बनाउ थालिएको महानगरले जनाएको छ ।

यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबीच यसअघि सम्झौता भएको थियो ।

विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेले फागुन १७ मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन र स्थानहरुमा प्रतिष्ठानले भित्तेचित्र बनाइरहेको हो । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिनेछ ।

चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरुसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी गर्ने, जवाफदेहिता वहन गर्ने दायित्व प्रतिष्ठानकै हुने गरि सम्झौता भएको थियो । यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबीचको सम्झौता । तस्बिर: काठमाडौं महानगरपालिका

६० प्रतिशत (३० लाख रुपैयाँ) र कार्य सम्पन्न भइसकेपछि ४० प्रतिशत (२० लाख रुपैयाँ) प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

प्रतिष्ठानले कार्ययोजना बनाउँदा सम्झौतामा उल्लेख भएको रकमबमोजिकको बनाउनु पर्नेछ ।

सुरुवाती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गराउन सुरु गरिएको छ । सुन्धारापछि त्रिपुरेश्वर ओरालो, प्रदशनीमार्ग , विमानस्थल, बबरमहल, लैनचौर समाजकल्याण परिषद्, बानेश्वर मीनभवनको भित्तोमा आर्ट गरिने महानगरले जनाएको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी/क्लिकमान्डु


क्लिकमान्डु