प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

मंगलबार काठमाडौंमा राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङदेनले आफ्ना मागमा गृहमन्त्रीको राजीनामा पनि थपिएको बताए ।

गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरुलाई छानिछानि आक्रमण गर्न लगाएको उनको आरोप छ ।

निषेधित क्षेत्रभन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

सरकारले तोकेको निषेधित क्षेत्रहरु संविधान बमोजिम नरहेको र संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार दिएको उनले बताए । ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो ।


क्लिकमान्डु