बालुवाटारमा सभामुखसहित शीर्ष नेताहरुबीच छलफल, के भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुखसहित दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीका विषयमा गृहमन्त्रीसहितका मन्त्रीहरुमाथि लागेको आरोपबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

कांग्रेसले आज विहान ११ बजेका लागि बोलाइएको बैठक चल्न नदिने यसअघि बताइरहँदा सत्ता पक्षले प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेको हो ।

११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक मध्याह्न १२ बजेसम्म पनि बस्न सकेको छैन ।

कांग्रेसले छानबिनका लागि संसदीय समिति गठनको माग गरिरहँदा सत्तापक्षले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद सञ्चालन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।


क्लिकमान्डु