सहकारी ठगीमा रविमाथि छानबिनका लागि संसदीय समिति बनाउने माग उचित: कांग्रेस संसदीय दल



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको हो ।

बैठकका बारेमा जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बहालवाला मन्त्रीहरु समेत सहकारीको रकम अपचलनमा संलग्न देखिएको अवस्थामा सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाए।

कांग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको उनले बताए ।
संसदीय दलको बैठकले नेपाली कांग्रेसले उठाउँदै आएको माग उचित रहेको ठहर गरिएको उनले जानकारी दिए ।

नेपाली कांग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ । कांग्रेसले उठाएको मागकाप्रति सरकार गैरजिम्मेवार भए संसदका काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्ने उनको भनाइ छ ।

कांग्रेस संसदीय दलको बैठकले आपसमा धार्मिक, सामाजिक, सांस्कृतिक विपरित विद्वेष फैल्याउने कुनैपनि खालका तत्वहरु अनुचित रहेको ठहर गरेको छ । सुनसरीमा विषयलाई लिएर भएको धार्मिक झडपप्रति गम्भीर रहेको बताएको छ ।


क्लिकमान्डु