हेटौंडामा पौने २ अर्ब लगानीमा दाना उद्योग खोल्दै खुमा अर्याल



काठमाडौं । मकवानपुर जिल्लाको हेटौंडामा पौने २ अर्ब लगानीमा दाना उद्योग सञ्चालनमा आउने भएको छ । ओम एग्रो प्रालिले १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ लगानीमा हेटौंडामा दाना उद्योग सञ्चालनको काम भइरहेको छ ।

प्रतिघण्टा २० मेट्रिक टन दाना उत्पादन गर्ने उद्योग निर्माण गर्ने योजना बनाएको कम्पनीले लगानीको अनुपात ७०:३० राखेको छ । कम्पनीले १ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा बैंकबाट लिई लगानी गर्ने भएको छ भने बाँकी रकम लगानीकर्ताले व्यहोर्ने छन् । कम्पनीले उद्योग निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

सन् २०२४ को मार्चसम्ममा उद्योगको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीले आगामी सन् २०२५ देखि व्यवसायिक कारोबार गर्ने तयारी गरेको छ ।

नेपालमा दाना उद्योगमा उच्च प्रतिस्पर्धा छ । त्यस्तै यस क्षेत्रमा भारतीय तथा चीनको लगानीकर्ताको आकर्षण रहेको छ । भारतीय लगानीकर्ताले नेपालमा स्काइलर्क एग्रो र निम्बुस ईन्टरनेशनल कम्पनी प्रालिमा ठूलो लगानी गरेको छ भने चिनियाँ लगानीकर्ताले नेपाल वेलहोप एग्री टेक प्रालि र न्यू होप एग्रो बिजनेश प्रालि उद्योगमा लगानी गरेका छन् । उक्त विदेशी लगानी कम्पनीहरुसँग नेपाली उद्योगहरुले प्रतिस्पर्धा गर्न निकै कठिन रहेको कम्पनीले जनाएको छ ।

कम्पनी अध्यक्ष खुमाप्रसाद अर्याल हुन् । उनी गण्डकी मेडिकल कलेज र टिचिङको पनि अध्यक्ष हुन् भने युनिभर्सल कलेज अफ मेडिकल साइन्स र नेपालगञ्च मेडिकलको व्यवस्थापन निर्देशक हुन् । साथै उनी खिलुङ कालिका एग्रो फार्मको निर्देशक पनि हुन् । अर्याल नेपाली कांग्रेस निकटका व्यवसायी हुन् ।


क्लिकमान्डु