२ अर्ब २६ करोड खर्च गरेर दाङमा ५ सय शय्याको सञ्जिवनी अस्पताल बनाउँदै खुमा अर्याल



काठमाडौ । लुम्बिनी प्रदेश दाङको घोराहीमा २ अर्ब २६ करोड खर्च गरेर ५ सय शय्याको सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल अस्पताल बन्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले उक्त अस्पतालको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन राय सुझावका लागि सार्वजनिक गरेको छ । ईआईमा राय सुझावका लागि सार्वजनिक गर्नुअघि नै दाङमा भने अस्पताल निर्माण सुरु भइसकेको अवस्था छ ।

उक्त अस्पताल युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा तथा गण्डकी मेकिल कलेज, पोखराको स्वामित्व र व्यवस्थापन गरिरहेको व्यवसायिक समूहले निर्माण गर्न लागेको हो । यो समूहमा खुमा अर्याललगायत रहेका छन् । सञ्जिवनी अस्पतालमा भने खुमाप्रसाद अर्याल र भेषराज अर्यालको आधा आधा स्वामित्व रहने गरि निर्माण हुने बताइएको छ । अर्याल नेपाली कांग्रेस निकटका व्यवसायी हुन् ।

अस्पताल निर्माणका लागि २ अर्ब २६ करोड ८९ लाख रुपैयाँ लागन लाग्ने प्रस्ताव गरिएको छ । आयोजनाको इआईएअनुसार लगानीमध्ये २१ करोड (९.२६ प्रतिशत) सेयर पुँजी, २७.०१ करोड रुपैयाँ (११.९० प्रतिशत) लगानीकर्ताको स्थीर लगानी, १५६.३४ करोड (६८.९० प्रतिशत) आवधिक ऋण, २.५ करोड रुपैयाँ (१.१० प्रतिशत) कार्यशिल पुजि र २०.०४ करोड रुपैयाँ (८.८३ प्रतिशत) आन्तरिकमार्फत रहेका छन् ।

अस्पताल आफ्नै स्वामित्वको ३ बिघा १५ कट्टा ७.९१९ घुर जग्गामा निर्माण हुने आयोजनाको एआईए रिपोर्टले जनाएको छ ।
रोल्पा, प्युठान, सल्यान, रुकुम, दांग, अर्घाखाँची, बाँके र कपिलवस्तु गरी आठ जिल्लाबाट दैनिक करिब ७ सय जनाको प्रवाह हुने अनुमान गरिएको छ ।

अस्पतालमा कार्डियोलोज, गैस्ट्रोएन्टेरोली, युरोलोजी, सामान्य शल्यचिकित्सालगायतका सेवाहरुसँगै प्लास्टिक सर्जरी, पल्मोनोलोजी, युरोलोजीजस्ता विशिष्टिकृत सेवाहरु पनि उपलब्ध गराइने इआईए रिपोर्टमा उल्लेख गरिएको छ ।

अस्पताल सञ्चालनका क्रममा ६५७ जना आवश्यक पर्ने तथा अस्पताल निर्माणको चरणमा १ लाख ७५ हजार ५२० मानवदिन जनशक्ति खाँचो पर्ने ईआईमा उल्लेख गरिएको छ ।

अस्पतालमा निर्माण तथा सञ्चालन चरणमा आवश्यक पर्ने उर्जा ५० देखि १ सय किलोवाट रहेको छ । अस्पताललाई १८ महिनाको अवधिमा निर्माण सम्पन्न गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु