नेपालमा आवश्यकताको २०% मात्रै स्वदेशी मकै उत्पादन: अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसाबले अहिले औद्योगिक उत्पादनमा माग र महत्त्व बढ्दै गइरहेको जिकिर गरे ।

उनले नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको बताए । उनले नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बताए ।

गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको बताए । उनले मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भए पनि पर्याप्त नभएको जिकिर गरे ।

‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्वपूर्ण भूमिका छ । पछिल्लो तथ्यांकअनुसार ९ सय ८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ । नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ । त्यसमा मकैको निकै महत्वपूर्ण भुमिका छ । नेपालको निजी क्षेत्रको वार्षिक करिव ६ लाख मेट्रिक्टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिव ४० अर्ब जति लगानी गरेको तथ्यांक छ,’ उनले भने, ‘यसमा नेपालको आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ । नेपालमा मकैको आवश्यकता औद्योगिक उत्पादनको लागि प्रत्येक वर्ष बढेर गएको छ । जस्तो आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको देखिन्छ । मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भए पनि पर्याप्त छैनन् ।’


क्लिकमान्डु