प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु हुँदैनः माधव नेपाल



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने उनको जिकिर छ । नेपाली राजनीतिकर्मीहरुहको आचरण सही नभएको ठहर गर्दै नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने उनले बताए । अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभइ सहयोगी रहेको अध्यक्ष नेपालले बताए ।

माधव नेपालले यसो भने

निर्वाचन प्रणालीका कुरा उठे, यसका आफ्नै समस्या छन् । पैसा हुनेले जित्ने, यो निर्वाचनको विकृतिलाई कसरी नियन्त्रण गर्ने ? यसको निम्ति कुनै प्रत्यक्ष निर्वाचनको परिपाटीले टुंगो लगाउँदैन । प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुंगो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त । केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त । अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त । हाम्रो आचरण यस्तो छ । हामी जस्ता यस्तै खालका मान्छेहरु राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन् । अनि कुरा उठाउनेहरुलाई गोदेर कहाँ पु¥याइदिने हो । यो हेरेर चल्नुपर्छ । हाम्रो चुनावको प्रणालीमा मुख्य समस्या छ । अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन । आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ । कानून निर्माण गर्नेकुरामा ध्यान दिनुपर्छ । त्यसपछि आवश्यकता परे कुन संविधानको कुन धारा हो जस्तो संघीय प्रणाली, स्थानीय निकायहरुसँगका कुराहरु पनि । यि सबै कुराको बारेमा बहस र छलफल गर्न सकिन्छ ।


क्लिकमान्डु