सहकारी प्रकरणमा रास्वपाका नेताहरु मुछिएपछि गृहमन्त्रीको जवाफ: प्रश्न उठ्दैमा आत्तिनु पर्दैन



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका नेताहरु सहकारी ठगीमा मुछिएको बारेमा प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने तर्क गरेका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुसिएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जवाफ दिए ।

‘प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ,’ उनले भने ।

समाचामा आउने सबै सत्य नहुने भन्दै उनले सत्य के हो त्यसको खोजि गरेर समाचार प्रकाशन एवं प्रशारण गर्न आग्रह गरे ।
एउटा पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने उनको भनाइ छ ।

‘समाचार आएपछि पुग्यो ?, तपाईंहरुले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेशन राखेर ठगीमा ? भनेर क्वेशन राखिदिएको हो की, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो की ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो ?,’ आक्रोशित हुँदै लामिछानेले भने, ‘एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भनेत सकिहाल्यो । होइन, तपाईंहरुको अन्य साथीहरुले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरु अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ । त्यहाँ एउटा क्वेशन मार्क राखेको छ, क्वेशन त गर्न पाइन्छ । प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी सहकारी ठगी प्रकरणमा जोडिएको बारे क्लिकमान्डुले समाचार प्रकाशन गरेपछि मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा संसदीय छानबिनको माग गरेको थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्री अर्याल ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा बचतकर्ता ठगी प्रकणमा मुछिएको भन्दै छानबिनको माग गरे ।

अर्याल उक्त सहकारीको उपाध्यक्ष हुँदा बचतकर्ताले ४ करोड ९२ लाख रुपैयाँ बचत फिर्ता नपाएको विषयमा समाचार प्रकाशन भएको थियो। उक्त सहकारीमा रास्वपाका उपसभापति अर्याल उपाध्यक्ष र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी सञ्चालक थिए ।


क्लिकमान्डु