सहकारी ठगीमा श्रममन्त्री डीपी अर्यालमाथि संसदीय छानबिन गर्न माग



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै निष्पक्षीय संसदीय छानविन समिति बनाउन माग गरेको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्री अर्याल ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा बचतकर्ता ठगी प्रकणमा मुछिएको भन्दै छानबिनको माग गरे ।

‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्दा तपाईँकै हितमा हुन्छ । संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने आधार छन्। यस विषयमा छानबिन भएर सत्यतथ्य बाहिर आओस्, तपाईँको संलग्नताको पर्याप्त आधार छन् छानबिन हुनुपर्छ त्यसको लागि समिति आवश्यक छ,’ यादवले संसदमा भने, ‘ अर्को सहकारी ठगीको विषयमा पनि आएका छ। जसमा रास्वपा उपसभापति तथा श्रममन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी रकम फिर्ता नपाएको विषय छ । अर्याल मात्रै होइन रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि गोर्खा मिडियाका अध्यक्ष जिवी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ ।’

अर्याल उक्त सहकारीको उपाध्यक्ष हुँदा बचतकर्ताले ४ करोड ९२ लाख रुपैयाँ बचत फिर्ता नपाएको बिषयबारे क्लिकमान्डुले समाचार प्रकाशन गरेपछि कांग्रेसले यसबारे संसदमा कुरा उठाएको हो । उक्त सहकारीमा रास्वपाका उपसभापति अर्याल उपाध्यक्ष र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी सञ्चालक थिए ।

उनीहरुले नै सहकारीमा गोर्खा मिडिया नेटवर्क जिबी राईलाई भित्र्याइएको र राईले बचतकर्तालाई ठग्ने काम गरेको सांसद यादवले बताए ।

उक्त सहकारी अहिले समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’लाई समस्याग्रस्त घोषणा गरेको थियो । मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएको छ । सहकारी विभागको सिफारिसमा माघ १२ गते समस्याग्रस्त घोषणा गरेको हो ।

संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएपछि कार्यालयले सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न सूचना जारी गरिसकेको छ ।

काठमाडौंको बालुवाटारमा रहेको सहकारीले २०७७ साल साउन २७ गते साधारणसभा गरेको थियो। सभाले ४ वर्षका लागि सूर्यबहादुर गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक चयन गर्यो । उपाध्यक्षमा वर्तमान श्रममन्त्री डीपी अर्याल, सचिव उत्तम अधिकारी, कोषाध्यक्ष जनक गौतम रहेका थिए । यस्तै सञ्चालक सदस्यमा कृष्णकुमार न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका अहिलेका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र शर्मिला तामाङ रहेका थिए ।

४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको भए पनि कार्यकाल नसकी २०७९ साल असोज २२ गते साधारणसभा बोलाउन लगाएर अर्याल, बुर्लाकोटीको सक्रियतामा सहकारीको अध्यक्ष राईलाई चयन गरिएको थियो ।


क्लिकमान्डु