सेयर बजार राताम्मे, कारोबार रकम पनि घट्दै



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक १७.०१ अंकले घटेर परिसूचक २०३१.५५ बिन्दु कायम भएको छ ।

३०४ कम्पनीको ७० लाख ६१ हजार कित्ता सेयर २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजार मापन गर्ने सूचकसँगै कारोबार रकम पनि घटेको छ । कारोबारमा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ कम्पनीको मूल्य घटेको छ ।

कारोबारमा अधिकांश समूहको उसूचक राताम्मे भएको छन् । बैंकिङ समूहको उपसूचक १३.३७, विकास बैंक ६०.५८, वित्त १६.७८, जलविद्युत २७.९८, जीवन बिमा १००.२५, माइक्रोफाइनान्स ९०.६२, निर्जीबन बिमा ८२.६४, अन्य समूहको उपसूचक ९.२६ अंकले घटेको छ । कारोबारमा होटल २३.७१, उत्पादन तथा प्रशोधन १४७.८२, ट्रेडिङ समूहको उपसूचक ८.७३ अंकले बढेको छ ।

कारोबारमा बोटलर्स नेपाल (बालाजु), सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने किसान लघुवित्त वित्तीय संस्था, बुद्ध भुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा पहिलो स्थानमा गोर्खाज फाइनान्स रहेको छ । कम्पनीको २८ करोड ९० लाख २५ हजार ८५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट र सोनापुर मिनरल्स एण्ड आयल रहेको छ ।


क्लिकमान्डु