१ घण्टामै श्रम स्वीकृति: मन्त्रीको निर्देशन ४ दिन कट्यो, भएन कार्यान्वयन



काठमाडौं । वैदेशिक रोजगार विभाग मातहत रहेका वैदेशिक रोजगार कार्यालय ताहचलले एक घण्टामा श्रम स्वीकृति दिन अझै समय लाग्ने जनाएको छ ।

कार्यालयकी सूचना अधिकारी कल्पना मास्केले एक घण्टामा श्रम स्वीकृति दिन अझै समय लाग्ने बताएकी हुन् । उनकाअनुसार कार्यालयले दिँदै आएको सेवामा सुधार भइरहेको छ । तर, गत शुक्रबारदेखि एक घण्टामै श्रम स्वीकृति दिने भनिए पनि हालसम्ममा त्यो सुविधा उपलब्ध नभएको उनले बताइन् ।

‘कार्यालयले एक घण्टामै श्रम स्वीकृति दिने भनेर सफ्टवेयरमा धेरै परिवर्तन ल्याएको छ,’ उनले क्लिकमान्डुसँग भनिन्, ‘आइतबारबाट सहज तरिकाले श्रम स्वीकृति दिने उद्देश्यसहित विभाग लागिरहेको छ । यसको नतिजा भोलिदेखि देखिने छ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले चैत ४ गते आइतबार फागुन ९ गतेबाट एक घण्टामै श्रम स्वीकृति दिन निर्देशन दिएका थिए । मन्त्री अर्यालले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गरी एक घण्टामा सम्पूर्ण श्रम स्वीकृतिको कार्य सक्नेगरी काम गर्न निर्देशन दिएका थिए ।

मन्त्री अर्यालले प्रणालीमा समय–समयमा समस्या आउँदा श्रमिकले श्रम स्वीकृति नपाउने तथा थप आर्थिक भार खेप्नु परेको भन्दै गत शुक्रबारबाट एक घण्टामै सबै सेवा दिन निर्देशन दिएका थिए । तर, ४ दिन बित्नै लाग्दासमेत १ घण्टामै श्रम स्वीकृतिको काम हुन सकेको छैन ।

कार्यालयकी सूचना अधिकारी मास्केले एक घण्टामा श्रम स्वीकृति दिन नसकिएको भए पनि त्यसका लागि सफ्टवेयरमा परिवर्तन भइरहेको बताइन् ।

‘कार्यालयको २० वटा कम्प्यूटरमा अपडेट गरिएको छ भने कर्मचारीलाई तीन सिफ्टमा काम गर्न लगाइएको छ,’ उनले भनिन्, ‘पहिले दुई लेयरमा काम गर्दै आएकोमा अहिले एक लेयरमा काम भइरहेको छ ।’

उनले एक घण्टामा सेवा दिन तीब्र गतिमा काम भइरहेको जानकारी दिइन् । तर, मन्त्रीले भनेजस्तै एक घण्टामा सम्पूर्ण सेवा दिन भने कठिन रहेको उनको भनाइ छ ।

पछिल्लो समय सर्भरमा समस्या आउँदा एक दिनमा सेवा दिन कठिन भएको अवस्था छ । उक्त व्यवस्थालाई सुधार गरि एक घण्टामै सेवा दिन भने समय लाग्ने उनको भनाइ छ ।

हाल दैनिक १५ सय जनाले पुनः श्रम स्वीकृति लिने गरेका छन् भने ११ सय जनाले नयाँ श्रम स्वीकृतिका लागि आवेदन दिने गरेका छन् ।

हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिको लागि १३ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र ७ जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ । त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र ७ जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । तर, अब देखि व्यक्तिगत श्रम स्वीकृतितर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने तयारी विभागको छ ।


क्लिकमान्डु