स्वास्थ्य परीक्षण सेवा बन्द भएकामा म्यानपावर व्यवसायीको आपत्ति

56
Shares

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (नाफिया) ले वैदेशिक रोजगार क्षेत्रमा हाल देखिएका गम्भीर, संवेदनशील तथा चिन्ताजनक घटनाक्रमप्रति गहिरो चासो व्यक्त गरेको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै केही स्वास्थ्य संस्थाले सरकारको निर्णय अस्वीकार गर्दै सेवा बन्द गर्नु श्रमिक विरोधी र गैरजिम्मेवारपूर्ण भएको भन्दै आपत्ति जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्रीस्तरीय बैठकले स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गर्ने निर्णय गरिसकेको अवस्थामा पनि केही स्वास्थ्य संस्थाहरूले सो निर्णय नमान्दै सेवा अवरुद्ध गर्नु, कामदारलाई अन्योलमा पार्नु र अनावश्यक दुःख दिनु अत्यन्त निन्दनीय कार्य भएको संघको भनाई छ ।

नाफियाले यस प्रकारको गतिविधिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार, समय, आर्थिक अवस्था तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर नकारात्मक प्रभाव पारिरहेको स्पष्ट पारेको छ ।

स्वास्थ्य संस्थाहरूले उत्प्रेषण आदेश तथा परमादेश माग गर्दै उच्च अदालतमा रिट दायर गरेका छन् । संघले सो मुद्दामा पनि सहभागी हुने निर्णय गरेको छ ।

नाफियाले ‘निशुल्क’को नारा व्यवहारिक नभई श्रमिकमाथि अन्याय भएको ठहर गर्दै सबै सरोकारवालाको हित समेट्ने गरी लागत निर्धारण नीति तत्काल लागू गर्न नेपाल सरकारसँग माग गरेको छ । श्रमिकको अधिकार, हित, सम्मान र सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै श्रमिकमाथि अन्याय, अनावश्यक आर्थिक बोझ तथा भ्रम सिर्जना गर्ने कुनै पनि निर्णय वा गतिविधिको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ ।