जीवन बिमामा कसरी निर्धारण हुन्छ बोनसदर ?



कुनै पनि व्यक्तिको जीवन बीमा गर्दा निश्चित प्रिमियम तिर्नुपर्ने हुन्छ भने कुनै निश्चित बीमांकका लागि व्यक्तिको उमेर र बीमा गरिने वर्षका आधारमा प्रिमियम निर्धारण गरिएको हुन्छ ।साधारणतयाः शुरुमा निर्धारण गरिएको प्रिमियम उक्त पोलिसीको अन्त्यसम्म नै यथावत रहन्छ । एकातिर शुरुमा निर्धारण गरिएको प्रिमियम, उमेर र बीमा अवधि बढ्दै जाँदा अपुग हुन्छ भने भविष्यमा बीमितलाई केही परिहाल्यो वा भयो भने पनि बीमांक र बोनस रकम पूरै दिनुपर्ने हुन्छ ।

१. जीवन बिमामा बोनस

जीवन बिमा अवधि समाप्तिमा वा कुनै कारणबस बिमा अवधिभित्र बीमितको मृ्त्यु भएमा बिमाङ्कमा थप गरी दिइने रकमलाई बोनस भनिन्छ ।

२. कम्पनीले बोनसदर घोषणा गर्ने तरिका

जीवन बिमाका बीमितहरुले भुक्तानी गरेको सम्पूर्ण बिमाशुल्क र उक्त बिमाशुल्क प्राप्त गर्न लागेको खर्च कट्टा गरी जीवन बिमा कोषमा जम्मा गरीन्छ र जीवन बिमा कोषमा भएको रकमहरु बिमा समितिबाट स्वीकृत प्राप्त क्षेत्रहरु जस्तैः कृषि, पर्यटन, जलस्रोत, सरकारी ऋणपत्र, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा, डिवेञ्चर, ट्रेजरी बिल, बैंक तथा वित्तीय संस्थाको सामूहिक लगानी कोष, म्युचुअल फण्ड, पव्लिक लिमिटेड कम्पनिको साधारण सेयर, घरजग्गा व्यवसाय, तथा अन्य स्वीकृत प्राप्त क्षेत्रमा लगानी गरिन्छ ।

यसरी जीवन बिमा कोषमा जम्मा भएको रकम र लगानीको प्रतिफलहरु समेतबाट कम्पनी बीमितहरुको मृत्युदावी, सर्मपण तथा कम्पनीको आवश्यक खर्चहरु कट्टा गरी आएको रकमहरु मध्येबाट चालू प्रतिफल तथा खर्च, भविष्यमा प्राप्त हुने प्रतिफल दावी तथा खर्चलाइ मध्यनजर गरी बिमाको विज्ञ (बिमाङ्की) द्वारा बिमाङ्कीय मूल्यांकन गरी निकालिएको दरलाई बिमा क्षेत्रको नियमन गर्ने निकाय बिमा समितिबाट स्वीकृती प्राप्त भए पश्चात घोषणा गरी लागु गर्ने गरीन्छ ।

यसरी घोषणा गरिएको बोनस जुन आर्थिक वर्षको हिसाबबाट गणना गरिएको हुन्छ सोहि वर्षको लागि लागु हुन्छ । तसर्थ प्रत्येक आवको वोनस फरक फरक हुन सक्दछ । घोषणा नगरीएको आवका लागि अघिल्लो घोषणा गरिएको बोनस दर लागु हुन्छ जसलाई अन्तरिम बोनसदर भनिन्छ ।

३. बोनस रकम गणनाको उदाहरण

बोनसदर सामान्यतः प्रतिवर्ष प्रतिहजार बिमाङ्क उल्लेख गरिन्छ । जस्तै ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार भन्नाले १० लाख रुपैयाँ बिमाङ्कमा ७२ x१०,००,०००/१,०००= ७२ हजार प्रत्येक वर्षका दरले थप रकम प्राप्त हुन्छ । यसलाई विस्तारित रुपमा उदाहरण सहित यसरी बुझ्न सकिन्छ ।

कुनै व्यक्तिले १० लाख रुपैयाँको नाफामा सरिक हुने जीवन बिमा गरेको रहेछ, जसको बिमा अबधि २१ वर्ष रहेछ र बिमा कम्पनीले २१ वर्ष सम्म एकनास बोनस दर ७२ रुपयाँ प्रतिवर्ष प्रतिहजार घोषणा गरेको रहेछ भने बिमा अवधि पश्चात बीमितले निम्नानुसार रकम प्राप्त गर्दछ ।

क) बिमाङ्क रकम: -१० लाख रुपैयाँ

ख) बोनस रकम ( ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार x २१ वर्ष x रु.१०,००,०००/१,०००) -१५ लाख १२ हजार रुपैयाँ

कुल प्राप्त हुने रकम (क + ख) -२५ लाख १२ हजार रुपैयाँ

यदि उपरोक्त उदाहरणमाः कथंकदाचित बीमितको बिमा चालु भएको ५ वर्षमा मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा इच्छाएको व्यक्ति नभएमा बीमितको नजिकको हकदारले निम्नानुसार रकम प्राप्त गर्दछ ।

क) बिमाङ्क रकम -१० लाख रुपैयाँ

ख) बोनस रकम ( ७२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार x ५ वर्ष x १०,००,०००/१,०००) -३ लाख ६० हजार रुपैयाँ
कुल प्राप्त हुने रकम (क + ख) -१३ लाख ६० हजार रुपैयाँ

४. बढी बोनस दरले कम्पनीको उच्च कार्यदक्षता प्रतिबिम्ब हुन्छ वा हुँदैन ?

बोनस कम्पनीको आम्दानीबाट खर्च कट्टा गरी आएको वचतबाट गणना गरी निकालीने हुँदा धेरै बोनस आउन धेरै आम्दानी हुनुपर्ने र कम खर्च गर्नुपर्ने हुन्छ र बीमीतहरु बाट प्राप्त बिमाशुल्कलाई मितव्ययी ढंगले सञ्चालन गरी नाफा उच्च देखाउनुले बोनसमा सकारात्मक असर पार्दछ । तसर्थ धेरै बोनस हुनुले कम्पनीको उच्च वित्तीय एवम व्यवस्थापकिय कार्यदक्षता प्रतिबिम्ब गर्दछ ।

५. धेरै बोनस दर भएमा बिमालेख समर्पण गर्दा वा बिमालेख कर्जा लिँदा कसरी बढी रकम प्राप्त हुन्छ वा हुँदैन ?

यदि कसैले बिमाङ्क १० लाख रुपैयाँको १५ वर्षको जीवन बिमा गरेको छ र लगातार ५ वर्षको पूरा बिमाशुल्क भुक्तान गरी ५ वर्ष पश्चात बीमितले कर्जा लिँदा पाउने रकम र समर्पण गर्दा पाउने रकम, उक्त अवधिको कम्पनीको घोषित बोनस दर ६२ रुपेयाँ (प्रति वर्ष प्रति हजार बिमाङ्कमा) रहेछ भने निम्नानुसार हुन्छ-

६. बोनस दर कम भएमा बिमा अवधि समाप्तिमा वा मृत्यु दावी रकम प्राप्त गर्दा कम रकम प्राप्त हुन्छ वा हुँदैन ?

जीवन बिमा चालु रहेको अवधिलाई कम्पनीको घोसित बोनस दरले गुणन गरी कुल बोनस रकम प्राप्त हुदा बोनस दर कम भएमा बिमा अवधि समाप्तिमा वा मृत्यु दावी रकम प्राप्त गर्दा कम रकम प्राप्त हुन्छ ।

नोटः– जीवन बिमाको मुख्य उद्देश्य लगानी र उच्चतम प्रतिफलका लागि नभई आर्थिक जोखिम हस्तान्तरणको लागि भएकोले बोनस लगायतका प्राथमिकता जीवन बिमामा दोस्रो उद्देश्य भएकोले बोनसका लागि होइन जोखिम न्यूनीकरण, आफू र आफ्नो परिवारको बाँकी जीवनको निरन्तरता र आर्थिक सुरक्षाका लागि हो ।

(जीवन बिमा क्षेत्रमा करीव डेढ दशकको अनुभव प्राप्त लेखक नारायण अर्पण घिमिरे कपिलवस्तु जिल्लामा शिक्षण पेसामा आवद्ध छन् ।)


क्लिकमान्डु