मुख्यसचिवले किने ३६० रुपैयाँको पेडा र फ्लेवर मिल्क, सिंहदरबारमा सुरु भयो डीडीसीको बिक्री केन्द्र



काठमाडौं । सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले बुधबार ३ सय ६० रुपैयाँबराबरको दुग्धजन्य पदार्थ खरिद गरेका छन् ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले देशकै सबैभन्दा ठूलो प्रशासनीय केन्द्र सिंहदरबार हाताभित्र बुधबारदेखि सुरु गरेको सहुलियत बिक्री केन्द्रको उदघाट्न गर्दै मुख्य सचिव अर्यालले उक्त मूल्यबराबरको दुग्धजन्य पदार्थ खरिद गरेका हुन् ।

अर्यालले २ सय ९० रुपैयाँको पेडा र ७० रुपैयाँ पर्ने एक वोतल फ्लेवर मिल्क उक्त बिक्री केन्द्रबाट खरिद गरेका थिए । उदघाट्न गर्दै अर्यालयले सिंहदरबारभित्र बिक्री केन्द्र खोल्नुभन्दा मुलुकभर बिक्री केन्द्र बिस्तार गर्न आवश्यक रहेको बताए ।

उनले डीडीसी रिङरोडभन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न आग्रह गरे । अर्यालले डीडीसीले आफ्ना उत्पादनलाई मुलुकभर पुर्‍याउन सक्ने प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए ।

अर्यालले डीडीसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको जानकारी दिए । सिंहदरबारभित्र डीडीसीको बिक्री केन्द्र स्थापना हुँदा दूध तथा दुग्धजन्य पदार्थको बजार बिस्तारका साथै उपभोग दर बढ्न विश्वास आफुले लिएको उनले बताए ।

‘पछिल्लो समयमा दुग्धजन्य पदार्थको बजार घट्दै गएको अवस्थामा सिंहदरबारमा सुरु भएको बिक्री केन्द्रले बजार थोरै भएपनि बृद्धि हुने विश्वास लिएको छु,’ उनले भने, ‘सिंहदरबारमा बिक्री केन्द्र स्थापना भएपछि दुग्धजन्य पदार्थमा अब छुट दिन आवश्यक छैन् ।’

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले विगतको वर्षको तुलनामा पछिल्लो ६ महिनामा डीडीसी नाफा गएको बताए । उनले पछिल्लो समय दुग्धजन्य वस्तुहरु बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने जानकारी दिए ।

उनले डीडीसीले धेरै जनघन्त्व भएका क्षेत्रमा बिक्री केन्द्रहरुलाई अभियानकै रुपमा अगाडि बढाउन सुझाव दिए । उनका अनुसार सिंहदरबारमा २ हजार ५ सयभन्दा बढी कर्मचारी भएकाले उनीहरुको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको हो ।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले लामो समयको प्रयासपछि सिंहदरबार परिसरमा बिक्री केन्द्रको स्थापना भएको बताए । उनले बजारमा दुग्धजन्य पदार्थ स्टक रहेको बेलामा सिंहदरबारमा बिक्री केन्द्र स्थापना गर्नु उपयुक्त रहेको जानकारी दिए ।

उनले भने, ‘सिंहदरबारभित्र हामीले ४४ प्रकारका पदार्थहरू उपलब्ध गराएका छौँ । यसले गर्दा सिंहदरबारभित्रका कर्मचारी पनि लाभान्वित हुनुका साथै डीडीसीको समेत बजार विस्तार हुनेमा हामी विश्वस्त छौं।’ बुधबार उदघाट्नको एक दिनमा डीडीसीले २२ हजार रुपैयाँबराबरको दूध र दुग्धजन्य पदार्थ बिक्री गरेको छ ।


क्लिकमान्डु