कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेसका सांसद दिपक गिरीले लामिछानेको राजीनामा मागेका हुन् । सहकारीबाट बचतकर्ताको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाममा प्रहरीमा उजुरी परेको भन्दै आरोपी व्यक्ति मन्त्री बन्न नमिल्ने भएकाले राजीनामा दिनु पर्ने उनको भनाइ छ ।

‘पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा माघ २२ गते सहकारीका बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र माओवादीका नेता दिपेश पुनको नाममा उजुरी परेको र पुन पक्राउ समेत परिसकेका छन्’ उनले भने ‘प्रहरीमा उजुरी परेको व्यक्ति अहिले गृहमन्त्री बन्नु भएको छ । यसले अनुसन्धान प्रभावित हुन्छ । आफूले आफैंलाई कारबाही गरेको उदाहारण छैन ।’

सहकारीले गैह्र सदस्य कारोबार गर्न नमिल्ने र गरेको पाएमा कारबाही हुने स्मरण गराए । सहकारी ऐनको दफा ५० मा सहकारीले आफ्नो सदस्यसँग मात्रै बचत परिचालन गर्न, त्यसको परिचालन गर्न र सदस्यलाई मात्रै कर्जा परिचालन गर्न मिल्ने व्यवस्था भएको स्मरण गराए । उनले ऐनको दफा १२२ मा कसुर दण्ड जरिवाना तथा उक्त दफाको उपदफा ‘ख’ मा कानून बिपरित अन्य कुनै प्रयोजनमा बचत परिचालन गरेमा बिगो बराबरको जरिवाना र तीन वर्ष कैद हुने स्मरण गराए ।

उपदफा ङ मा रकम उठन नसक्ने गरी रकम हिनामिना गरेमा बिगो बराबरको जरिवाना र रकमको आधारमा ८ देखि १० वर्ष कैदको व्यवस्था रहेको बताए । स्वार्थको द्वन्द्व हुने गरी लामिछानेलाई किन मन्त्रीमा नियुक्त गरेको भन्दै प्रश्न गरे ।


क्लिकमान्डु