म्याद थपका लागि महरालाई लगियो अदालत



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ ।

सोमबार भैरहवामा पक्राउ परेका महरालाई विमानबाट काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएका उनलाई सोझै नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो ।
विदुयुतीय चुरोट(भेप) मा सुन तस्करी आरोपमा पक्राउ परेका उनलाई संगठित अपराधको मुद्दा अघि बढाउने तयारी प्रहरीको छ ।

यसैबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।


क्लिकमान्डु