रोल्पा जान लागेको भनेका महरा भारततर्फ भाग्दै थिए ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

नेता महरालाई कपिलवस्तुबाट अहिले काठमाडौँ ल्याइएको प्रवक्ता ढकालले जानकारी दिए । यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिइ कागज गरी छाडेको थियो ।

विमानबाट काठमाडौं ल्याइएपछि महरालाई सीआईबी लगिएको छ ।

सीआईबीले महरालाई आजै अदालतमा उपस्थित गराएर म्याद लिने तयारी गरेको छ । सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीले आजै महरालाई अदालतमा उपस्थित गराएर म्याद लिई अनुसन्धान अगाडि बढाउने बताए । रूपन्देही र कपिलवस्तुको सीमामा नियन्त्रण लिँइदा महराले आफू रोल्पा जान हिँडेको प्रहरीलाई बताएका थिए।

तर, प्रहरी स्रोतले भने उनी भारत भाग्न खोजेको जनाएको छ । मुख्य मार्ग नभएर भित्रिबाटोबाट उनी भारततर्फ जान लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पिछा गरिरहेको जानकारी पाएपछि महरा विहानको खाना छाडेर हिँडेका थिए ।

केही महिनाअघि कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका थिए । राहुल महरा गत भदौमा सुन तस्करी प्रकरणमै पक्राउ परेका हुन् ।

विदेशबाट आयात गरिएको भेपमा लुकाएर नौ केजी सुन तस्करी गरिएको प्रकरणमा राहुल महरासहित विभिन्न व्यक्तिहरूविरुद्ध मुद्दा परेको छ ।

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरासँग पनि प्रहरीले बयान लिएको थियो ।

यसैबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।


क्लिकमान्डु