सुन तस्करीमा पक्राउ परेका महराले भनेका थिए: ठूला माछाहरु छन्, हामी त भुरे ! (भिडियो)

काण्डैकाण्डमा 'महरा सर'



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् ।

विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप लागेका महरालाई प्रहरीले सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरेको हो ।

महरालाई कपिलबस्तुबाट आज काठमाडौं ल्याइएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।

समितिले प्रतिवेदनमा उल्लेख गरेकाहरुमाथि कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका थिए ।

कृष्णबहादुर महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

काण्डैकाण्डमा महरा

माओवादी शान्ति प्रकृयामा आएपछि महरा निरन्तर जसो पार्टी र राज्य सत्तामा लाभको पदमा रहेका व्यक्ति हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र भएका कारण पार्टी र राज्य सत्तामा लाभको पदमा रहँदै आएका छन् ।

माओवादीका धेरै नेताहरुका ‘महरा सर’ शालीन र भद्र नेताको रुपमा रहँदै आएका थिए । माओवादीका धेरै नेताहरुलाई पढाएका महरालाई प्रचण्डपछिको माओवादीको उत्तराधिकारीको रुपमा हेरिएको भए पनि उनी राम्रो छवी भएका नेतामा भने पर्दैनन् ।

उनीमाथि भ्रष्टाचारका विभिन्न आरोपसँगै यौन दुर्व्यवहार आरोपसमेत लाग्यो । सभामुख र विभिन्न कालखण्डमा मन्त्री बनेका महरामाथि यौन दुर्व्यववहारको आरोप लागेपछि उनको राजनीतिक उचाइ घटेको थियो ।

२०७६ असोज १२ गते संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप उनीमाथि लागेको थियो । तर उक्त आरोपमा महराले सफाइ पाए ।

जिल्ला अदालत, काठमाडौंले उनलाई सफाइ दिएको थियो । त्यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी १०३ दिन पुर्पक्षका लागि थुनामा बसेका थिए । महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद सचिवालयकी कर्मचारीले अदालतसमक्ष भने महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन् ।

बलात्कार आरोप बाहेक पनि महरा विभिन्न काण्डमा फसेका व्यक्ति हुन् ।

चिनियाँ व्यापारीसँग ५० करोडदेखि फ्रिक्वेन्सी वितरणसम्ममा विवाद

महराले चिनियाँ व्यवसायीसँग ५० करोड रुपैयाँ मागेको अडियो टेप विवादित बनेको थियो । २०६७ भदौ १८ गते सार्वजनिक भएको सो अडियोमा महरा र एक चिनियाँ व्यापारीबीच कुराकानी भएको थियो । उक्त कुराकानीमा महराले प्रधानमन्त्री निर्वाचनका लागि ५० सांसद खरिदका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक भएको बताएका थिए ।

महरा त्यसअघि सस्तो मूल्यमा फ्रिक्वेन्सी वितरण गरेको भन्दै विवादमा परेका थिए । ०६२/६३ को जनआन्दोलनपछि बनेको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका महरा विवादमा तानिएका थिए । त्यतिबेला नेपालमा सबैभन्दा धेरै फ्रिक्वेन्सी वितरण गरिएको थियो ।

महरामाथि त्यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह र व्यवसायी अजेयराज सुमार्गीसँग मिलेर कौडीको भाउमा सेटिङमा फ्रिक्वेन्सी वितरण गरेको आरोप लागेको थिए । यसरी कौडीको भाउमा फ्रिक्वेन्सी बिक्री गरेर करोडौँ घोटाला भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले समितिनै गठन गरेको थियो ।

अर्थमन्त्री बन्नुअघि अख्तियारको सफाइ

महरा २०७३ सालमा अर्थमन्त्री बनेका थिए । अर्थमन्त्री हुनुअघि अकुत सम्पत्ति कमाएको भन्दै महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो । महरा अख्तियारमा बयानसमेत दिन पुगेका थिए । त्यसबेला अख्तियारले उनलाई १३ पाने फारम भराएर अनुसन्धान गरेको थियो ।

तर महराले तत्कालीन अख्तियार प्रमुख लोममान सिंह कार्कीसँग सेटिङ मिलाए । त्यसपछि महराले अर्थमन्त्रीको सपथ लिने अघिल्लो दिन अख्तियारले सफाइ दिएको थियो ।

त्यसोत अर्थमन्त्री बनेपछि पनि महरा विवाद बाहिर रहन सकेनन् । अर्थमन्त्रीको कार्यकालमा रोल्पामा करोडौं रुपैयाँ रकमान्तर गरेको भन्दै अख्तियारले उनीमाथि छाबिन थालेको थियो । आफ्नो निर्वाचन क्षेत्रमा मात्रै खुद्रे आयोजना खडा गरेर ६६ करोड रुपैयाँभन्दा बढी गैरबजेटरी रकमान्तर गरेपछि उनी विवादमा तानिएका थिए ।

क्यान्टोन्मेन्टको रकममा भ्रष्टाचार

महरामाथि माओवादी लडाकुलाई शिविरमा राखिएको बेलाको रकम भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । सरकारले माओवादी लडाकुका लागि उपलब्ध गराउँदै आएको रकम उनले आफ्नो नाममा चेकमार्फत बुझेपछि विवादमा तानिएका थिए । उनीमाथि सरकारले मासिक रुपमा उपलब्ध गराएको ५२ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको थियो ।

भैरहवाबाट महरालाई काठमाडौं ल्याएर सीआईबी कार्यालय लगियो

३० हजार ८५२ माओवादी लडाकुका लागि मासिक पाँच करोड ७३ लाख ८५ हजारका दरले ९ महिनासम्म सरकारले ५२ करोड निकाशा गरेको र उक्त रकमको चेक महराले बुझ्ने गरेका थिए । माओवादी नेताहरुले नै क्यान्टोन्मेन्टको रकम महराले दुरुपयोग गरेको आरोप लगाउने गरेका छन् । यस घटनामा पनि अख्तियारले अनुसन्धान थालेको थियो । महालेखा परीक्षकको कार्यालयले २०६८ सालसम्म माओवादी शिविरमा भएको उक्त खर्चलाई बेरुजु राखेको थियो । २०६९ वैशाखमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त रकमलाई बेरुजुबाट हटाउने निर्णय गरेको थियो । महराले क्यान्टोन्मेटबाट लिएको रकम माओवादीका उच्च तहका अन्य नेताको भागमा समेत परेको आरोप लाग्दै आएको छ । यो विषयमा अख्तियारले अनुसन्धान रोकेको छ । विभिन्न समयमा पुराना ठूला भ्रष्टाचारको फाइल खोल्नु पर्ने माग संसदमा उठ्दा क्यान्टोन्मेटको विषय पनि उठ्ने गरेको छ । तर शान्तिप्रकृयामा आएपछि निरन्तरजसो सत्तामा रहेको माओवादीले यस विषयलाई रोक्दै आएको आरोप लाग्ने गरेको छ ।

त्यस्तै महराले ईसाई धर्मगुरूबाट आशीर्वाद लिएको भन्दै विवादमा तानिएका थिए ।

छोराहरु पनि बिबादमा

महराका दुई छोरा पनि बिबादमा तानिने गरेका छन् । महराको राजनीतिक पहुँचको दुरुपयोग गरेको आरोप उनीहरुमाथि लाग्दै आएको छ ।

पछिल्लो समय भने उनका छोरा राहुल महरा विद्युतीय चुरोटबाट सुन तस्करी प्रकरणमा जेलमा छन् भने उनका अर्का छोरा निर्मल पनि विवादमा तानिएका थिए । निर्मलले आफ्नो एनजीओमा चीनबाट लगानी भित्र्याउने कुराले केही समयअघि माओवादीभित्र बिबाद भएको थियो ।

भन्थे भुरेभारा माछा, रहेछन् ठूला !

महराले अर्थमन्त्री भएको बेलै आफू सुन तस्करीको भूरा माछा भएको बताएका थिए । २०७३ पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन समातिएपछि महराको नाम जोडिएको थियो ।

महराले एउटा सार्वजनिक कार्यक्रममा सुन काण्डका ठूला माछा समात्नु पर्ने भन्दै आफू भने भूरा माछा मात्र भएको बताएका थिए । ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’, महराले भनेका थिए, ‘मेरो नामै सुन तस्करीमा जोडेर आ’छ । जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा । त्यो समय क्रममा बाहिर आउँछ । हामी त भुरेभारेमात्र हौं ।’ महराले भुरेभारे भने पनि सुन तस्करी प्रकरणमा पक्राउ परेका सबैभन्दा ठूला राजनीतिज्ञ हुन् । उनका छोरासमेत सुन तस्करी प्रकरणमा हिरासतमा रहेका छन् ।


क्लिकमान्डु