सहकारी समस्या समाधानका लागि छानबिन आयोग गठन गर्न एमालेको माग



काठमाडौं । नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न माग गरे ।

त्यस्तै सहकारीको वर्गीकरण र सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने पनि बताए । उनले ऋणीहरुको अध्ययन गर्नुपर्ने, ऋण फर्काउनैपर्ने बाध्यकारी प्रवन्ध र आन्दोलन बुझेको नियामक निकाय निर्माण गरेमा समस्या समाधान हुने बताए । उनले कानूनको संशोधन गर्न पनि आवश्यक रहेको बताए ।

उनले राज्यले समयानुकुल कानूनको प्रवन्ध गर्न नसक्दा र नियामक निकाय गैरजिम्मेवार बनाउँदा अहिले सहकारीमा समस्या देखापरेका बताए ।

‘सामाजिक सहकारीमा समस्या कमै छ । तर धन्दाका लागि खोलिएको सहकारीले सिर्जना गरेको समस्यामा आज आम सहकारी आन्दोलन घाइते बनेको छ । त्यसैले यो आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउनुपर्छ र जिम्मेवारपूर्वक खोजी गर्नुपर्छ,’ उनले भने, ‘ म सरकारलाई आग्रह गर्न चाहन्छु, तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔँ । सहकारीको वर्गीकरण गरौँ । सम्पत्तिको स्रोत प्रमाणित गरौँ । ऋणीहरुको अध्ययन गरौँ । ऋण फर्काउनैपर्ने बाध्यकारी प्रवन्ध गरौँ । आन्दोलन बुझेको नियामक निकाय निर्माण गरौँ । र सरोकारवालासँग छलफल गरेर कानुनको संशोधन गरौँ । यसरी जाने हो भने यो सहकारी आन्दोलनमा आइरहेको समस्या समाधान हुन्छ ।’


क्लिकमान्डु