सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानूनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताए ।

लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउने थापाले बताए । लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने उनले बताए । गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका व्यक्त गरे ।

गगनले यसो भने

पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ । पोखरा महानगरपालिकाले अध्ययन गर्‍यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । रिपोर्टले भन्यो सय जना मानिसहरुले नक्कली खाता खोलेर करिव १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८ औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरु मध्येको एउटा नाम हो रवि लामिछाने । माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ ।

भोलि प्रधानमन्त्री बन्नुहोला । शुभकामना छ, बन्न पनि सक्नुहुन्छ । अलग विषय हो । तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ । सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानूनी छ । मैले उहाँको स्पष्टिकरण सुने । ३ मिनेट २० सेकेण्डको थियो ।

मैले राम्रो सँग सुने, पढेँ पनि । स्पष्टिकरणमा भनिएको छ, कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन । सहकारीको सदस्य होइन, कसैले मेरो नाम लग्यो होला । यदि यस्तै मान्ने हो भने सय जना नै मानिसहरुले एक अर्ब रुपैयाँ लगेको प्रकृति ठ्याक्कै यही हो । कसैको धितो छैन । कोही सहकारीको सदस्य होइन ।

कुनै प्रक्रिया पुर्‍याइएको छैन । एक अर्ब झ्वाम्म । यसरी छोड्दिने हो भने एकजनालाई मात्रै छोडेर हुँदैन अब । सबैलाई छोड्नुपर्छ । एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छोड्नुपर्छ । सरकार यही गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ ।’


क्लिकमान्डु