सहकारीका ऋणीलाई समयमा नै ऋण चुक्ता गर्न महानगरको आग्रह, अटेर गरे सम्पत्ति रोक्का गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमा नै ऋण चुक्ता गर्ने आग्रह गरेको छ ।

ऋणीले समयमा नै ऋण चुक्ता नगरेको खण्डमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ र ८४, बागमती प्रदेश सहकारी ऐन २०७६, को दफा ६५ र ६६ एवं काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था रहेको स्मरण गराएको छ ।

प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गर्न सहकारी विभागले सबैलाई अपिल गरेको छ ।

अन्यथा कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराएको छ । पछिल्लो समय, सहकारी संस्थाहरूमा आएका विविध समस्याहरूले सहकारीहरूको व्यवस्थापनमा असहज परिस्थिति सिर्जना भएको स्मरण गराएको छ ।

ऋणी सदस्यहरूले लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरूले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासो आइरहेको जनाएको छ ।

केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको बचत फिर्ता गर्न नसकेको अवस्था रहेको भन्दै ऋणीलाई समयमा नै ऋण तिर्न आग्रह गरेको छ ।


क्लिकमान्डु