‘कांग्रेस २८ दिनभित्र सरकार ढाल्न लागिपरेको छ’



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको उनले आरोप लगाए ।

कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने उनले बताए ।

रवि लामिछानेले आफू राज्यबाट दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताइरहेकोले यसलाई राजनीतिक ढंगबाट आक्रमण गर्न आवश्यक नरहेको उनले बताए ।

‘रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिना भित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ । अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन,’ उनले भने, ‘ कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुन्छ भन्ने सोच्नु हुँदैन । यो सरकारलाई उहाँहरुले २८ दिनको म्याद दिनुभएको छ ।’

सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने उनले बताए । आयोगको प्रतिवेदन सांसदहरुलाई बुझाउन पनि सरकारसँग उनले आग्रह गरे ।

‘सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जोजो जहाँ जहाँ जसरी संलग्नता छ । दोषका प्रकृतिका आधारबाट कानूनी कारबाही हुन्छ । प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ,’ उनले भने, ‘हामीले सरकारलाई संसदमार्फत ध्यानाकर्षण गराएका छौं । उजागर गरेका विषयहरु कहीँ थन्क्याउने होइन, कोही पनि मान्छे उम्किने अवस्था रहँदैन । कानूनको आँखाबाट दोषी देखिएको जोसुकै भएपनि उम्किन हुँदैन । कोही पनि दोषी सरकारको छायाँमा रहेका कारणले गर्दा उन्मुक्ति पाउँछ भन्नेकुरा किमार्थ हुँदैन ।’


क्लिकमान्डु