८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजनाको निर्माण अघि बढ्दै



काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना अघि बढाउन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ ।

आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइईई) रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिन भित्र पेश गर्नका लागि विभागले चैत्र ३ गते सूचना जारी गरेको हो ।

आयोजनाको प्रवर्द्धक कम्पनी एबिपि इनर्जी प्राली रहेको छ । कम्पनी सञ्चालक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले आयोजना निर्माणको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको बताए । आयोजना निर्माणमा अन्य अवरोधहरु नभएमा २०८३ चैत्रभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको खतिवडाले बताए ।

नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका मुख्य मुख्य संरचनाहरु दुप्चेश्वर गाउँपालिका वडा नम्त्रर १ स्थित खोलाको दायाँ किनारमा रहने छन् ।

विद्युत विकास विभागका अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट २०७९ फागुन ३० मा स्वीकृत भएको थियो ।

प्रस्तावित जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विभाग वा एबीपी इनर्जी प्रालिको कार्यालयमा लिखित प्रतिक्रिया दिन आह्वान गरिएको छ ।

तादी घ्याङफेदी जलविद्युत आयोजनाले तादी खोलाको २.२५ घनमिटर प्रति सेकेण्ड पानी र ४४६ मिटर ग्रस हेडको प्रयोग गरी ८ मेगावाट विद्युत उत्पादन गर्नेछ । आयोजनाबाट वार्षिक ४९.७६ गिगावाट आवर (सुक्खायाममा १६.१७ गिगावाट आवर र वर्षायाममा ३३.५९ गिगावाट आवर) विद्युतीय ऊर्जा उत्पादन हुनेछ।

आयोजनाका लागि आवश्यक पर्ने पानी फर्काउन तादी खोलामा २२ मिटर लम्बाइ र ४ मिटर उचाईको बाँध निर्माण गरिने छ । विद्युतगृह १९.६ मिटर लम्बाइ, १६.२ मिटर चौडाइ र २१.७७ मिटर उचाइको विद्युतगृहमा ४-४ मेगावाट क्षमताका दुई वटा टर्बाइन रहने छन् ।

आयोजनाबाट उत्पादित विद्युत आयोजनाको स्विचयार्डमा जडान गरि ५ किलोमिटर लामो ३३ केभी सिंगल सर्किट प्रसारण लाइनबाट नुवाकोटकै समुन्द्रटारमा रहेको सबस्टेसनमा जडान गरिने छ ।


क्लिकमान्डु