पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता, १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजाय माग



काठमाडौं । पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका सल्लाहकार जीवन गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मुद्दा दायर गरेको छ ।

बिहीबार सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमती दिएपछि आज (शुक्रबार) जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए ।

तस्करी गरि ल्याइएको सुन सहित रंगेहात पक्राउ परेका मीन घले र जीवन गुरुङ बीच सुन तस्करीका विषयमा कुरा भएको प्रमाण भेटिएपछि अदालतमा मुद्दा दर्ता गरिएको भन्सार कार्यालयले जनाएको छ ।

गुरुङले घले सँग कुराकानी गर्न प्रयोग गरेका मोबाइलहरू फालेकाले सुन तस्करीका संलग्न अन्य व्यक्तिको विषय जानकारीमा नआएको भन्सारका अधिकारीहरूले बताए ।

प्रहरीले विभिन्न नम्बरको कल डिटेल अनुसन्धान गरिरहेकाले सुन तस्करीमा संलग्न अन्य ब्यक्तिको जानकारी क्रमश खुल्दै जाने श्रोतले जानकारी दिएको छ ।

श्रोतका अनुसार सिआईबीले गरेको गुरुङको कल डिलेट अनुसन्धानमा वर्तमान अर्थमन्त्री वर्षमान पुन र गुरुङ बिच पटक पटक कुरा भएको देखिएको छ ।

भन्सारले गुरुङ १३८ किलो सुन तस्करीमा संलग्न भएको दाबी गर्दै १ अर्ब ४० करोड ५५ लाख ३० कायम गर्दै मुद्दा दर्ता गरेको हो । गुरुङलाई भन्सार चोरी पैठारी गरेको कसुरमा ५ वर्ष कैद सजाय हुनु पर्ने माग गरिएको छ ।

सुन तस्करीको आरोपमा पक्राउ परेको निवर्तमान राष्ट्रपति नन्द बहादुर पुनका सल्लाहकार जीवन कुमार गुरुङलाई पक्राउ पुर्जी जारी भएको ६८ दिनपछि प्रहरीले पक्राउ गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा गुरुङ संलग्न रहेको भन्दै क्लिकमाण्डुले गत पुस १७ गते समाचार प्रकाशित गरेको थियो ।

प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष समेत रहेका गुरुङको योजनामा सुन तस्करी हुने गरेका भन्सार विभागका अधिकारीले जानकारी दिएका थिए ।

भन्सार कार्यालयले गत पुस ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर गुरुङलाई पक्राउ गर्न आग्रह गर्दै प्रहरीलाई पत्राचार गरे पनि २ महिनासम्म गुरुङलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक हेमबहादुर गुरुङसँगको निकटताले प्रहरीले गुरुङलाई नियन्त्रणमा लिन समय लगाएको स्रोतको दाबी थियो ।

पर्वत स्थायी घर भएका जीवन गुरुङलाई सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको थियो ।

गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट बरामद भएको १४ किलो सुन तस्करीमा गुरुङ संलग्न रहेको भन्दै भन्सार कार्यालयले थप अनुसन्धानका लागि गुरुङलाई नियन्त्रणमा लिन खोजेको थियो ।

१४ केजी सुनसहित रंगेहात पक्राउ परेको चन्द्र घलेको बयानका आधारमा भन्सार कार्यालयले मीन घलेलाई पक्राउ गरेको थियो । मीन घलेले गुरुङको आदेशमा आफूले काम गरेको बयान दिएका थिए । गुरुङ घले पक्राउ परे लगत्तै फरार भएका थिए ।

मीन घलेले बयानमा क्रममा जीवन गुरुङ पूर्व उपराष्ट्रपति पुनको सल्लाहकार भइसकेको र गुरुङले नै काठमाडौंमा जम्मा हुने सुन सीमावर्ती क्षेत्रमा पुर्‍याउने गरेको बताएका थिए ।


क्लिकमान्डु