पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार १४ केजी सुन तस्करीमा संलग्न भएको आरोप, पासपोर्ट कालोसूचीमा राख्न पत्राचार



काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न भएको हुन सक्ने बलियो आधार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले फेला पारेको छ ।

गत मंसिर २१ गते राति फ्लाई दुबईको विमानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुनका विषयमा कार्यालयले अनुसन्धान गर्दा पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङले तस्करहरुसँग नियमित संवाद गर्ने गरेको पाइएको हो ।

भन्सार विभागका अधिकारीहरु पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनसँग निकट रहेका गुरुङ लामो समयदेखि सुन तस्करीमा संलग्न भएको दाबी गर्छन् ।

तस्कारीमा गुरुङ संलग्न हुन सक्ने आधार भेटिएपछि भन्सार कार्यालयले थप अनुसन्धान गर्न उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट प्रक्राउ पुर्जीसमेत जारी गरेको छ ।

पर्वत जिल्ला घर भएका ६२ वर्षीय गुरुङलाई प्रक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ । तर, उनी फरार रहेको प्रहरीले जनाएको छ । जसले गर्दा कार्यालयले गुरुङको राहदानी कालोसूचीमा राख्न अध्यागमन विभागलाई समेत पत्राचार गरेको छ ।

‘२०८० मंसिर २१ गते गते फ्लाई दुवईको उडान नम्बर एफजेड ५७३ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका गोरखाको बारपाक स्थायी ठेगाना भएका चन्द्र घलेको साथबाट बरामद भएको १४ केजी अवैध सुनका विषयमा अनुसन्धान हुँदा चोरी पैठारीमा संलग्न रहेको देखिएका व्यक्तिहरुले दिएको बयानबाट पर्वत जिल्ला साविक फलामखानी २ स्थायी ठेगाना तथा हाल काठमाडौ बसोवास गर्ने रामबहादुर गुरुङका छोरा वर्ष ६२ को नाप्रनं ८७ र राहदानी नम्बर ०९८३०९४१ रहेका जीवन कुमार गुरुङको खोजतलास गर्दा निज फरार रहेको र देशछोडि भागि जान सक्ने हुनाले तहाँ विभाग तथा मातहत कार्यालयहरु सबैमा जानकारी गराई निजको राहदानी र नागरिकता समेत कालोसूचीमा राखि पक्राउ गर्न सहयोग गरिदिनुहुन अनुरोध छ,’ कार्यालयले पुस ८ गते अध्यागमन विभागलाई लेखेको पत्रमा उल्लेख छ ।

कार्यालयको हिरासतमा रहेको मीन घले र जीवन गुरूङबीच नियमित संवाद भएको भेटिएपछि गुरुङको विषयमा अनुसन्धान गरिएको भन्सार विभागका एक अधिकारी बताउँछन् । ‘हामीले गुरुङले प्रयोग गर्ने मोबाइलको कल डिलेट रेकर्ड निकाल्ने प्रक्रिया सुरु गरिसकेका छौं,’ विभागका ती अधिकारीले भने, ‘गुरुङको कल डिटेलबाट तस्करीमा संलग्न अन्य व्यक्तिको जानकारी प्राप्त हुने विश्वास छ ।’

१४ केजी सुनसहित रंगेहात प्रक्राउ परेको चन्द्र घलेको बयानका आधारमा भन्सार कार्यालयले मिन घलेलाई प्रक्राउ गरेको थियो । मिन घले पक्राउ परेपछि गुरुङ परार भएको भन्सार विभागका अधिकारीहरु बताउँछन् ।

‘मिन घलेको कल डिटेल रेकर्ड हेर्दा जीवन कुमार गुरुङसँग नियमित संवाद हुने गरेको पाइयो,’ विभागका अधिकारीहरुले भने,‘थप अनुसन्धानका लागि जीवनलाई खोज्ने प्रयास गरे पनि उनलाई प्रक्राउ गर्न सकिएको छैन ।’

मिन घलेले बयानमा क्रममा जीवन गुरुङ पूर्वउपराष्ट्रपति पुनको सल्लाहकार भइसकेको र गुरुङले नै काठमाडौंमा जम्मा हुने सुन सीमावर्ती क्षेत्रमा पुर्‍याउने गरेको बताएका छन् ।

गुरुङ काठमाडौंको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका कार्यकारी अध्यक्षसमेत हुन् । यस्तै, उनले प्लाटिनम क्लब पनि सञ्चालन गर्ने विभागका अधिकारीहरु बताउँछन् ।

मिन घलेले गुरुङसँग नियमित कुरा गरेको पाइएपछि विभागले टोली कालिकास्थानमा रहेको प्लाटिनम कलेजमा समेत पुगेको थियो । कलेजका कर्मचारीले गुरुङ पर्वत जाने भन्दै बिदामा बसेको जानकारी दिएका थिए ।

गुरुङसहित विमल पोद्दार, अंकित अग्रवाल, राजेन्द्र बस्नेत र राज कामर भारतीमाथि थप अनुसन्धान गर्नु पर्ने भन्सार कार्यालयको निष्कर्ष छ ।

कार्यालयले भविष्यमा सुन तस्करीमा संलग्न भएको प्रमाण भेटिएमा थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयबाट अनुमति माग गरेको थियो ।

सोमबार सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम अनुसन्धान गर्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई अनुमति दिएको छ ।

‘गुरुङ, विमल पोद्दार लगायतलाई सुन तस्कारी गर्न दिपेश पुनले सहयोग गरिरहेका छन् भन्ने आधारसहितका सूचना आएका छन्,’ प्रहरीका एक वरिष्ठ अधिकारीले भने, ‘तर, कल रेकर्डको आधारमा मात्रै सुन तस्करी गरेको कसुर स्थापित हुन सक्दैन । अहिलेसम्मको अनुसन्धानबाट उनीहरुविरुद्ध मुद्दा चल्ने सम्भावना निकै कम छ । यदी चलायौं भने पनि अदालतबाट सफाइ पाउने सम्भावना हुन्छ । त्यसैले, थप प्रमाण जुटाउन जिल्ला सरकारी वकिल कार्यालयबाट समय मागेका हौं ।’

राजनीतिक संरक्षणमा रहने र सबै दलसँगको सम्बन्धमा रहेका पोद्दार पटक-पटक सुन तस्कारीमा संलग्न भएको भन्दै छानबिनमा परिसकेका व्यक्ति हुन् । पोद्दारलाई २०७५ सालमा समेत सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । यसपटक पनि भन्सार कार्यालयले पोद्दार माथि थप अनुसन्धान हुनु पर्ने निष्कर्ष निकालेको हो ।

यस्तै, सुन तस्करीमा संलग्न भनिएका गुरुङ गत माघमा मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा विवादमा परेका थिए ।

जनआस्था सप्ताहिकले गुरुङले मध्यराति मापसे गरेर जथाभावी गाडी हाँकेको, डिभाइडरमा ठोक्काएको र सशस्त्र प्रहरीका अवकाशप्राप्त एआईजीको गाडीमा ठक्कर दिएको भन्दै समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारमा उपराष्ट्रपति नन्दबहादुर पुनको राज्यमन्त्री सरहको सल्लाहकार हुँ भन्दै गुरुङले प्रहरीसँग दुर्व्यवहार गरेको उल्लेख छ । प्रहरीले गुरुङसहित मीनबहादुर घले र सुकेधारा बस्ने सुजन अर्याललाई प्रक्राउ गरेको थियो । हाल मीनबहादुर भन्सार कार्यालयको हिरासतमा छन् ।

जनआस्थामा प्रकाशित समाचार अनुसार गुरुङ प्रक्राउ परेपछि राति नै प्रहरीबाट छुटाउन सेतो नम्बर प्लेटको प्रदेश ३ ०१ ००२ झ ४७७७ नम्बरको गाडी महाराजगञ्ज प्रहरी कार्यालय पुगेको थियो ।

६० केजी र भेपमा सुन तस्करीमा भेटिएको थियो शंकास्पद गतिविधि

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा संलग्न भएको भनिएको विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करीमा समेत गुरुङको गतिविधि शंकास्पद भेटिएको थियो ।

उक्त घटनामा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनको समेत शंकास्पद गतिविधि फेला परेको प्रहरी स्रोतको दाबी छ । तर, प्रहरी प्रशासनले माओवादी नेताका छोराहरु माथि सुक्ष्म अनुसन्धान अगाडि बढाउन सकेन ।

माओवादी नेताहरु माथि अनुसन्धान नभएको भन्दै सत्ता साझेदार दलका साथै संसदमा समेत निरन्तर प्रश्न उठेपछि प्रहरीले महरामाथि छानबिन सुरु गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौ १३ गते पूर्वसभामुख महराका छोरा राहुललाई प्रक्राउ गर्‍‍यो ।

‘भेपमार्फत सुन तस्कारी गर्ने, ६० केजी सुन तस्कारी गर्ने र मंसिर २१ गते १४ केजी सुन ल्याउने गिरोह एउटै भएको हुन सक्ने कयौं आधार देखिएका छन्,’ विभागका अधिकारीहरुले भने,‘अहिलेसम्म प्रहरीले अनुसन्धानमा सहयोग गरिरहेको छ । हामीहरु यो विषयलाई जसरी पनि टुंगोमा पुर्‍याउन चाहन्छौं ।’

भेप प्रकरणमा संलग्न रहेको आरोप लागेका चिनियाँ नागरिक दाओजिङ वाङले नेपालमा बस्दा प्रयोग गर्ने गाडी जीवन गुरुङको नाममा रहेको भेटिएको थियो । भेप प्रकरणमा सीआईबीले गुरुङसँग बयान लिए पनि उनी माथि कुनै कारबाही अगाडि बढाएको थिएन ।

हाल भन्सार कार्यालयको हिरासतमा रहेको मिन घलेले चिनियाँ नागरिक दाओजिङ वाङलाई आफूले पनि चिन्ने र जीवन गुरुङले उनीसँग परिचय गराएको बयान दिएका छन् ।

हाल कार्यालयले १४ केजी सुन प्रकरणमा रंगेहात प्रक्राउ परेका चन्द्र घलेले दिएको बयान र सीसीटीभी फुटेज विश्लेषण गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका ६ तहका अधिकृत राधा कृष्ण श्रेष्ठ, प्राधिकरणबाट सेवा निवृत भई करारमा कार्यरत रहेका रमेश देउला र प्राधिकरणका कार्यालय सहयोगी लेक बहादुर तामाङलाई प्रक्राउ गरी मुद्दा दायर गरेको छ ।

यस्तै, प्राधिकरणले करारमा राखेका अनिल श्रेष्ठ, विमानस्थल कार्यालयमा सुनगाभा जेभीको तर्फबाट पल्म्बर काम गर्ने शेरबहादुर बस्नेतलाई समेत प्रक्राउ गरि मुद्दा दायर गरेको छ ।

चन्द्र घलेले दिएको बयानका आधारमा मिनबहादुर घले र सीसीटीभी फुटेज अनुसन्धान गर्दा कृष्णकुमार श्रेष्ठलाई प्रक्राउ गर्दै मुद्दा दायर भएको छ ।
बयानका क्रममा कृष्णकुमार श्रेष्ठले दुबईबाट १४ किलोको दरले ७ पटक सुन ल्याएको बयान दिएका छन् ।

दुबईबाट सुन पठाउने भनिएका अंकित अग्रवालले कृष्णलाई ह्वाटस् एपमा म्यासेज र टिकट पठाउने गरेको पाइएको छ । मोबाइलमा अंकित अग्रवाल नाम भए पनि उक्त व्यक्ति को भन्ने अहिलेसम्म पहिचान हुन नसकेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।


शरद ओझा