सुन तस्करीका नाइके मिनबहादुरको बयान: एयरपोर्टको सेटिङ मिलाउन ५ लाख खर्च हुन्थ्यो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत मंसिर २१ गते राति फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका यात्रु चन्द्र घलेले १४ किलो सुन बोकेर ल्याएका थिए ।

उक्त सुन मिनबहादुर घलेले ल्याउन लगाएको बयान चन्द्रले बयान दिएका छन् । उनकै बयानका आधारमा मिनबहादुर पनि पक्राउ परेका छन् । १४ किलो सुनसहित दुई जना पक्राउ परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छानबिन समिति गठन भएको थियो । उक्त समितिले छानबिन गरि प्रतिवेदन सार्वजनि गरिसकेको छ ।

समितिसमक्ष सुन नेपाल ल्याउने कामका नाइके मिनबहादुर घलेले यस्तो बयान दिएका छन्-

म जितार घलेको नाति, तेज बहादुर घलेको छोरा जिल्ला गोरखा, बारपाक सुलीकोट गापा वडा नं २ वतन भई हाल बूढानीलकण्ठ नगरपालिका मण्डिखाटार वडा नं.११ बस्ने वर्ष ५५ को मिनबहादुर घले हुँ । मेरो सम्पर्क नं ९८४३…..७ रहेको छ । चन्द्रबहादुर घलेले मेरो नाम समेत लिएको हुँदा सो सम्बन्धमा बयानको लागि यस कार्यालयमा उपस्थित भएको हुँ।

मैले ४/५ वर्ष जति ट्रेकिङ गाइडको रुपमा काम गरेँ, पछि नेचुरल एक्सफ्लोरल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि खोलि काम गरेँ, जनकपुर रेलवेको काठको ठेक्का पट्टा सम्बन्धि काम गरेँ, त्यस पछि हङकङमा गई ४/५ वर्ष बसेँ, त्यसपछि डान्स एण्ड रिसर्च कल्चर सेन्टर खोलेँ, यस पछि प्यासिफिक ओभरसिज प्रालि संचालन गरि बसेँ । कोभिड अगाडि यसलाई पनि बेचेँ र हाल कुनै पेशा व्यवसायमा आबद्ध छैन ।

मेरो मोबाइलमा भएको ९८४३…..७ नम्बरबाट दर्ता भएको ह्वाट्सएपलाई देखाउँदा उक्त एपमा भएको टेक्स्ट म्यासेज तथा अडियो समेत सनाखत गरिदिएको छु । मेरो मोबाइलको कन्ट्याक्ट लिस्टमा पूर्ण काइला नाम गरेको ब्यक्ति जिल्ला गोरखा वारपाक सुलिकोट गापा वडा नं. १ स्थायी वतन भइ हाल कामनपा स्वयम्भु बस्ने चन्द्र घले हुन् । ह्वाट्सएपमा समेत निजले प्रयोग गरेको नम्बर ९८५११….५ हो । निज चन्द्र घलेलाई दुबईमा सम्पर्क गर्नु पर्दा ह्वाट्सएपमा नेट नभए सम्पर्क गर्न नसकिने भएकाले त्यहींको सिम हुँदा सजिलै सम्पर्क गर्न सकिने भएकोले सिम किन्यौ ? भनी सोधेको हुँ र टिकटको सम्बन्धमा निजले मलाई पठाउन भनेकाले पठाएको हुँ ।

ह्वाट्सएपमा +८५२९…..3 नम्बरका व्यक्तिसँग च्याट गरेको र उक्त नम्बरका व्यक्ति भारतीय नागरिक अंकित अग्रवाल हुन् । ह्वाट्सएप च्याटमा ६ सेप्टेम्बर २०२२ समय १९:२६ मा निजले तपाईलाई ०५६११४८४८० अभिमान भनी दिएको नम्बर भारतीय व्यक्तिकै हो निज व्यक्ति दुबईमै बस्छ । उक्त नम्बर चन्द्र घलेलाई दिनका लागी मलाई अंकित अग्रवालले दिएको हो । उक्त च्याट मा २८ सेप्टेम्बर २०२२ समय १०:५८ मा निजले मलाई नाम: गुरु, सेल: ०५६२…..१ भनी दिएको नम्बर अङ्कित अग्रवालले कित गुरु, कित अभिमानले भेट्छ भनी उक्त नम्बर चन्द्र घलेलाई फर्वार्ड गर्नको लागि दिएको हो ।

अङ्कित अग्रवाललाई फ्लाई दुबईको बुकिङ रिफरेन्स नम्बर: एसएन४भीएक्सजी भएको टिकट मैले ह्वाट्सएपमा ५ डिसेम्बर २०२३ समय १५:१९ मा पठाएको थिएँ । भोलि चन्द्र घलेसँग भेटघाट गर्नु भनी भनेको हो। च्याटको क्रममा अङ्कित अग्रवाललाई हुन्छ भनि बिहीबार अरिहान्त भनि सोधेको जवाफमा ‘नो आई डिडन्ट. आई गेस आर्या मिसइन्टरप्रिटेड दो बट वि स्टिल ह्याभ वन डे टु म्यानेझ दो । क्यान यू ? भनेकोमा ‘एस एस आई विल एरेन्ज फर टुमारो ‘भनि जवाफ आएको देखियो र धन्यवाद समेत भन्नु भएको देखिन्छ भन्‍ने सम्बन्धमा म केही खुलाउन चाहन्‍न ।

उक्त च्याटमा, समय १५:२६ मा अङ्कित अग्रवाललाई टोकन इज ५/१२१५५९२३७ भनी भनेकोमा उक्त टोकन नम्बर उक्त टोकन चन्द्र घलेनै हो भन्‍ने प्रमाणको रुपमा पठाएको हो । साथै उक्त च्याटमा चन्द्रले सिम लिएपछि म खबर गर्छु भन्दा अङ्कित अग्रवालले उसलाई गुरुलाई सम्पर्क नगर्नलाई भन्यौं होला भनि आस गर्छु भनी भनेकोमा मैले ०५२८२८९०९४ नम्बर पठाएको हो । उक्त नम्बर चन्द्र घलेले दुबईमा सिम लिएपछि मलाई दिएको थियो । सोही नम्बर पठाएको हुँ । अङ्कित अग्रवालले ‘ हुन्छ मेरो मान्छेले भोलि डेलिभरी लोकेसनमा पुर्याउँछ ।

भोलि बिहानलाई केही काम भनेकोमा तपाईंले भरे केही हुनेछ कससँग भेट्ने हो ? के उसले मेरो मान्छेलाई फोन गर्छ? भन्‍ने बार्तालापमा चन्द्रलाई कस्ले भेट्छ भनी सोधेकोमा चन्द्रलाई अङ्कित अग्रवाल वा निजले पठाएको प्रतिनिधीले फोन गर्छ भनी सोधेको हुँ । जवाफमा चन्द्रसँग कुरा भैसकेको भनेको छ र उसले त्यहि वार्तालापमा सामान (सुन) दिएको जानकारी गराएको हो । चन्द्र घलेको भिसा तथा टिकट लाजिम्पाट स्थित राजश्री ट्राभलबाट इस्यू गराइदिन्छु । भिसा चाहिँ अङ्कित अग्रवालले उतैबाट पठाइदिन्छन् ।

मेरो मोबाइलमा दर्ता रहेको जिमेल आईडीमा रहेको इनबक्समा अङ्कित अग्रवालले २४ नोभेम्बर २०२३ मा पठाएको कृष्ण भिसामा ट्राभल इन्स्योरेन्स सर्टिफिकेट नामको कागजातमा कृष्ण कुमार श्रेष्ठ पासपोर्ट नं. पीए०६५२३८३ देखिन्छ । उल्लेखित कृष्ण कुमार श्रेष्ठ भन्‍ने ब्यक्ति कृष्ण कुमार श्रेष्ठ मेरो चिनजानको साथी हो । झन्डै आज भन्दा ७-८ बर्ष पहिले देखि चिन जान भएको हो । उक्त कृष्ण कुमार श्रेष्ठको भिसा र ट्राभल इन्स्योरेन्स समेतका कागजात सनाखत गरिदिन्छु।

त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालयका पदाधिकारीले मलाई सोधपुछ गर्दा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल भित्रको सेटिंङको बारेमा स्टेप बाइ स्टेप खुलाई दिनुहोस्, उक्त सुन चोरी पैठारीमा को-को संलग्न छन भन्ने प्रश्नको सम्बन्धमा आफुलाई जानकारी नभएको विमानस्थल भित्रको कर्मचारीहरुसँगको सेटिङ डिबिले नै मिलाउने गरेको भनी बताएको ।
उल्लेखित डिबि भन्‍ने ब्यक्ति जिल्ला लमजुङ घर भएका डिबि भन्ने दनबहादुर गुरुङ हुन् ।

डिभी भनेर सेभ गरेको ९८६६४०१९३२ हो । निजसँग मेरो करिब ७-८ वर्ष पहिले नयाँ बसपार्कको दोहोरी साँझमा भेटघाट भई चिनजान भएको थियो । मैले समेत दुबईवाट विगतमा सुन ल्याउने गरेको हो । पछिल्लो पटक १४ किलो लिएर डिबी गुरुङको सहयोगमा एयरपोर्टबाट बाहिर निकाली डिबी गुरुङको घरबाट उक्त सुन बुझिलिई अंकित अग्रवालले पठाएको ब्यक्तिलाई दिई निजबाट नौ लाख नगद बुझि लिएको हो ।

उक्त रकम मध्ये ५ लाख डिबी गुरुङलाई एयरपोर्टको सेटिङ मिलाउन खर्च हुन्थ्यो । बाँकी रकम मध्ये १-१ लाख म र डिबी गुरुङले बाड्ने, बाँकी मध्ये साठी सत्तरी हजार दुबई सुन लिन जाने व्यक्तिलाई दिने गरिन्थ्यो भने बाँकी दुबईको टिकट भिसा बनाउन खर्च हुने गर्थ्यो ।


क्लिकमान्डु