नक्कली नागरिकता बोकेका ‘बिजनेस क्लास’ यात्रुबाट सुन तस्करी, दुई मिनेटमा प्लेनभित्रै गायब !



काठमाडौं । गत शनिबार (मंसिर ३० गते) मध्यरातमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलको ह्वाटसएपमा अपरिचित नम्बरबाट म्यासेज आयो ।

‘दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मा नेपाली पासपोर्ट नम्बर ०९६१४२१४ बाट काठमाडौं आइरहेका भुवन कुमार क्षेत्रीले ४ केजीभन्दा बढी सुन ल्याएको आशंका छ । चेकजाँच गर्नु होला’, म्यासेजमा भनिएको थियो ।

म्यासेज पढेपछि पौडेल झस्किए ।

मंसिर २१ गते त्यसैगरी आएको म्यासेजलाई पछ्याउँदा भन्सार कार्यालयको टोलीले चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।

मंसिर २२ गते राति पनि फ्लाई दुबईकै विमानबाट आएका यात्रुले ६ किलो ५९० ग्राम सुन ल्याउँदैछन् भन्ने सूचना पनि विभागसँग थियो । तर, विभागको टोलीले विमानबाट यात्रु समात्न नसक्दा सुन फुत्किएको थियो । पछि प्रहरीले उक्त सुन नियन्त्रणमा लियो ।

मंसिर २१ गते भन्सारको टोलीले विमानबाट घलेलाई प्रक्राउ गरेकाले सुन नियन्त्रणमा लिन सकेको थियो । जसले गर्दा महानिर्देशक पौडेलले गत शनिबार राति ह्वाट्सएपमा आएको सूचना पछ्याउन सुरु गरे ।

पौडेलले सुरुमा फ्लाई दुबईको विमानमा भुवन कुमार क्षेत्री नाम गरेको यात्रु छन् वा छैनन् भन्ने एकिन गर्न लागे । पौडेलले फ्लाई दुबईको नेपाली कार्यालयलाई उडान नम्बर एफजेड ११३३ नेपाल आइरहेको यात्रुको जानकारी उपलब्ध गराउन आग्रह गरे ।

तर, फ्लाई दुबईले म्यानिफेस्ट (यात्रुहरुको जानकारी) दिन अस्वीकार गर्यो । गोपनीयता र सुरक्षाका कारण यात्रुको जानकारी दिन नसक्ने जानकारी फ्लाई दुबईले विभाग महानिर्देशकलाई गरायो ।

पौडेलले म्यानिफेस्ट उपलब्ध नगराए नेपालको कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएपछि मात्रै फ्लाई दुबईले शनिबार राति साढे २ बजे तिर भन्सार विभागलाई म्यानिफेस्ट उपलब्ध गरायो ।

म्यानिफेस्ट हेर्दा महानिर्देशक पौडेलको ह्वाट्स एपमा आएको सूचना सही देखियो ।फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ विमानमा भुवनकुमार क्षेत्री नाम गरेका यात्रु थिए ।

क्षेत्री बिजनेस क्लासको सिट नम्बर १ एफमा बसेको म्यानिफेस्टमा उल्लेख थियो । म्यानिफेस्टबाट विमानमा शंकास्पद व्यक्ति रहेको पुष्टि भएपछि महानिर्देशक पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेल, नरबहादुर थापा र प्रहरीका उच्च अधिकारीलाई उक्त जानकारी दिए ।

म्यानिफेस्टमा फ्लाई दुबईको विमान ८ बजेर ४० मिनेटमा काठमाडौं अवतरण हुने उल्लेख थियो ।

तर, उक्त विमान पूर्वनिर्धारित समय भन्दा १५ मिनेट अगाडि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

भन्सार विभागका अधिकारी र प्रहरीको टोली एयरसाइडमा तयारी अवस्थामा थियो । ग्राउण्डमा रहेका फ्लाई दुबईका कर्मचारीलाई भन्सार र प्रहरीको टोलीले कुनै जानकारी दिएको थिएन ।

विमान ह्याङगरमा पूर्णरुपमा रोकिएर ग्राउण्डका कर्मचारीले सिँढी लगाएपछि फ्लाई दुबईको ग्राउण्डमा रहेका कर्मचारीलाई विमानभित्र चेकजाँच गर्नु पर्ने सूचना दिए ।

ग्राउण्ड कर्मचारीले ककपिटमा उक्त सूचना दिए ।

पाइलट र एयरहोस्टेजले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार विमानमा खानतलासी गर्नुभन्दा अगाडि यात्रुलाई जानकारी दिनु पर्ने बताए ।

विमानको सिँढीमा भन्सार कार्यालयको टोली करिब २ मिनेट कुरेर बस्यो । सिधैं भन्सार अधिकृतले बिजनेस क्लासको सिट नम्बर १ एफमा रहेका यात्रुसँग पासपोर्ट मागे ।

पासपोर्टमा यात्रुको नाम भुवनबहादुर क्षेत्री र स्थायी ठेगाना अर्घाखाँची थियो ।

भन्सार अधिकृत र प्रहरीको टोलीले क्षेत्री बसेको ठाउँ वरीपरि खानतलासी गर्‍यो । तर, सूचनाअनुसार सुन फेला पार्न भने सकेन।
‘हामीले बिजनेस क्लासको सीट माथिको सामान राख्ने ठाउँ र अन्य ठाउँमा खानतलासी गर्यौं,’ विमानमा छापा मार्न पुगेका एक अधिकारीले भने,‘तर, हामीले सुन पाएनौं । २ मिनेट हामी बाहिर रोकिएको अवधिमा एयरहोस्टेजले सुन लुकाएको हाम्रो आशंका छ । उक्त विमानमा एक जना नेपाली एयरहोस्टेज पनि थिइन् । भन्सारको टोलीले छापा मार्दैछ भन्ने जानकारी सम्प्रेषण भएपछि उनले ककपिटमा सुन राखेको हुनुपर्छ । पाइलट बस्ने ककपिटमा हामी जान मिल्दैन ।’

भन्सार अधिकृत र प्रहरीले क्षेत्रीबाट सुन बरामद नगरे पनि उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लियो ।

‘उनले दुबईमा आफू बसेको ठाउँबाट विमानस्थल आउन ट्याक्सी चढ्ने पैसा नभएको म्यासेज पठाएका थिए । तर, उनी बिजनेस क्लासको टिकटमा दुबईबाट काठमाडौं आएका छन्,’ विभागका ती अधिकारीले भने, ‘उनका गतिविधि शंकास्पद थिए । हामीले उनको पासपोर्टमा ट्राभल हिस्ट्री हेर्दा २/३ महिनाको अवधिमा ९/१० पटक दुबई काठमाडौं ओहरदोहर गरेको पाइयो । जसले गर्दा उनलाई हामीले नियन्त्रणमा लियौं ।’

भन्सार अधिकृतहरुले केरकार गर्दा क्षेत्रीले सुनको विषयमा आफूलाई कुनै जानकारी नरहेको बयान दिए । उनले व्यवसायीक कामले दुबई काठमाडौं ओहरदोहर गर्ने गरेको बताए ।

बिजनेस क्लासको टिकटमा आएका यात्रुका गतिविधि शंकास्पद थिए । उनले लगाएका लुगा समान्य थिए । एउटा खुट्टामा मोजा थिएन । भन्सार अधिकृत र प्रहरी क्षेत्रीले सुन ल्याएका छन् भन्नेमा निश्चित भए पनि सुन भने फेला पर्न सकेको थिएन ।

‘उनले आफूले लगाएको मोजामा लुकाएको सुन एयरहोस्टेजलाई दिएको हुन सक्ने हाम्रो शंका थियो,’ विभागका एक अधिकारीले भने,‘तर, उक्त घटना प्रमाणित गर्ने प्रमाण थिएन ।’

भन्सारले क्षेत्रीलाई सामान्य सोधपुछ गरेपछि प्रहरीलाई थप अनुसन्धान गर्न बुझायो । तर, प्रहरीले पनि क्षेत्रीलाई थुनामा राख्न मिल्ने प्रमाण जुटाउन सकेन । जसले गर्दा आइतबार फेरि उनलाई भन्सारमा बुझायो ।

प्रहरीले क्षेत्रीको पासपोर्टका विषयमा समेत अनुसन्धान गरिरहेको थियो । अर्घाखाँची स्थायी ठेगाना हुनु, अर्घाखाँचीको विषयमा खासै जानकारी नहुनु, नेपाली भाषा प्रष्ट बोल्न नसक्नु जस्ता विषय प्रहरीलाई समेत शंकास्पद लागिरहेको थियो ।

‘हामीले अर्घाखाँची प्रशासनसँग पनि क्षेत्रीको कागजातको विषयमा बुझ्यौं,’स्रोतले भन्यो,‘क्षेत्रीको नागरिकता नै नक्कली भएको र सोही नक्कली नागरिकताका आधारमा पासपोर्ट बनाएको हुन सक्ने आधार देखिन थाल्यो । क्षेत्री नाम गरेका व्यक्ति नै भारतीय नागरिक हुन सक्ने आधार भेटियो ।’

उक्त जानकारीपछि प्रहरीको अर्को टोलीले भन्सार विभागमा बुझाउन लगिएका क्षेत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकाल्यो ।

अनुसन्धानका संलग्न एक अधिकारीका अनुसार प्रहरीको केरकारपछि क्षेत्रीले गत शनिबार दुबईबाट सुन ल्याएर आएको स्वीकार गरेका छन् ।

भन्सार प्रशासनले विमानमा चेकजाँच गर्न लागेको सूचना एयरहोस्टेजले दिएपछि आफूले लगाएको मोजामा बेरेर सुन विमानभित्रै लुकाएको बयान प्रहरीलाई दिए ।

भन्सार अधिकृतले गरेको आशंका क्षेत्रीले प्रहरीले दिएको बयानबाट पुष्टि भएको छ । क्षेत्रीले विजनेस क्लासको टिकटबाट काठमाडौं आउँदा आफूले सधैं सुन ल्याएको र उक्त सुन विमानबाट झरेपछि गाडीमै छोड्ने गरेको बयान प्रहरीलाई दिएका छन्।

‘मलाई दुबईबाट सुन पठाउने गिरोहले गाडी नम्बर दिएको हुन्थ्यो । बिजनेस क्लासका यात्रुलाई लैजान छुट्टै गाडी आउने गर्छ । मलाई सोही गाडीको सिट मुनी सुन छोडिदिनु भन्ने आदेश हुन्थ्यो,’ क्षेत्रीले प्रहरीलाई भनेका छन्,‘गाडीमा गएको सुन कसले बाहिर लैजान्थ्यो मलाई थाहा छैन । म एक दुई दिन काठमाडौं बसेर दुबई जाने र फेरि उहाँबाट सुन लिएर आउने गर्छु । यो काम गरेको मलाई पैसा दिइने गर्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायु सेवा निगमले गर्ने गरेको छ । यस्तै, यात्रुलाई चढाउने गाडीसमेत निगमले व्यवस्थापन गर्छ । क्षेत्रीले दिएको बयानका आधारमा निगमका उच्च तहका कर्मचारीसमेत सुन तस्करीको गिरोहसँग मिलेको प्रहरी र भन्सारको आशंका छ ।

‘निगमको गाडी विमानस्थल बाहिर ल्याउने प्रक्रिया कठिन छ । निगमका गाडीहरु चेकजाँच नगरी बाहिर ल्याउनै मिल्दैन,’त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एक कर्मचारी भन्छन्,‘यात्रुले ल्याएको सुन निगमको गाडी पार्क गर्ने ठाउँसम्म पुग्ने र त्यहाँबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको मिलेमतोमा बाहिर आउने गर्छ ।’

प्राधिकरणका एक कर्मचारीका अनुसार विमानस्थलभित्र चल्ने प्राधिकरणको पहेलो रँगको गाडी पटक पटक क्याटिन भएको क्षेत्रमा पुग्ने गर्छ ।

‘विमानस्थलभित्र प्रवेश पास दिने टर्मिनल डिउटी अफिस र भित्र गाडी चलाउने कर्मचारीको मिलेमतो बिना विमानस्थल भित्रको सुन बाहिर आउन सम्भव हुँदैन, ’विमानस्थल कार्यालयका एक कर्मचारी भन्छन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टिडिओमा १५/२० वर्ष पुराना कर्मचारी जमेर बसेका छन् । उनीहरुको अस्वाभाविक आर्थिक हैसियत बढेको छ । सुन तस्करी लगायतका अवधै गतिविधि गर्नेहरुलाई पास वितरण गरेर सहजीकरण गर्ने गरेको सुनिन्छ ।’

भन्सार विभागका महानिर्देशक पौडेल अहिले प्रहरीले सुन तस्कारी कसरी हुन्थ्यो भन्ने विषयमा अनुसन्धान गरिरहेकाले बिजनेस क्लासमा चढेर आएका यात्रुले ल्याएको सुन कसरी बाहिर आउथ्यो भन्न नसक्ने बताउँछन् ।

‘भन्सार र प्रहरीले सूचना आदानप्रदान गरेर अनुसन्धान गरिरहेको छ,’ पौडेलले भने,‘यस्ता गतिविधिमा जो सुकै संलग्न भए पनि छोड्ने छैनौं ।’


शरद ओझा