भरिया घलेको बयान: तीनपटक सुन ल्याएँ, शौचालयको रातो डस्टबिनमा राख्थें, कसले लान्थ्यो थाहा छैन



काठमाडौं । दुबईबाट १४ किलो सुन बोकेर आएका भरिया चन्द्र घलेले आफ्नो काम विमानस्थलको शौचालयमा रहेको रातो डस्टबिनमा सुन छोड्ने भएको बयान दिएका छन् ।

मंसिर २१ गते मध्यराति दुबईबाट आएका घले १४ किलो सुनसहित पक्राउ परेका थिए । पक्राउ परेका घलेको बयान पछि प्रहरीले मुख्य योजनाकार मिनबहादुर घलेलाई पक्राउ गरेको थियो ।

उक्त घटनापछि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समिति समक्ष दिएको बयानमा घलेले आफूले दुबईबाट सुन बोकेर ल्याउने र उक्त सुन विमानस्थलको शौचालयमा रहेको रातो डस्टबिनमा राख्ने गरेको बताए ।

मिनबहादुर घलेले दिएको निर्देशन अनुसार शौचालमा सुन छोडेर हिड्ने गरेको तर त्यो सुन कसले लैजान्छ भन्ने विषय आफूलाई थाहा नहुने उनले बयान दिएका छन् ।

१४ किलो सुन तस्करीको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गठित छानविन समितिले तयार गरेको एक प्रतिवेदनका अनुसार चन्द्रले हालसम्म तीन पटक दुवईबाट अवैध रुपमा सुन ल्याइसकेको बयान दिएका छन् ।

चन्द्रले पहिलो पटक २ पोका, दोस्रो पटक ४ पोका सुन ल्याएका थिए । पछिल्लो पटक भने ७ पोका (१४ किलो) लिएर आएको उनले बयान दिएका छन् । दुवईमा चन्द्रलाई गुरु भन्‍ने भारतीय मुलको व्यक्तिले सुन तयार भएपछि फोन गरेर लोकेसन दिने गरेका थिए । सोही लेकेसनमा पुगेर उनले सुन ल्याउने गरेका थिए । उक्त लोकेसनमा पुग्न र सुन लिनको लागि चन्द्रलाई दुवईको ५ दिराम टोकन दिने गरिएको थियो ।

छानबिन समितिसँगको चन्द्रले दिए यस्तो बयान

सोही टोकन भिडाएर मलाई सुन, सुन राखे ज्याकेट र मेरो नाममा जारी भएको सुनको बिल दिएर पठाउछन् । सुन बोकेर म आफू बस्ने होटेल (पहिला अल वएदा होटेल र यस पटक इमिरेट होटल) आएको थिएँ ।

आफ्नो फ्लाइटको दिन उक्त सुनको दुबईमा भन्सार तिरेर भन्सार तिरेको कागज, जहाज चढ्नु अघि च्यातेर ज्याकेट भित्र राखि नेपाल ल्याउने गर्दछु । म दुबईमा सुन आफुले लाएको ज्याकेट भित्र राखि बोर्डिङ पास जारी गर्ने क्षेत्र सम्म जान्छु । बोर्डिङ पास जारी भएपश्चात अध्यागमन क्षेत्रमा रहेको गोल्ड डिक्लेरेसन डेस्कमा गएर उक्त परिमाणको सुनको मेरो नाममा जारी भएको विल देखाइ डिक्लेयर गरि झोलामा राख्छु ।

मेरो काम दुवईबाट सुन ल्याएर नेपालको विमानस्थलको आगमन क्षेत्रको अध्यागमन कार्यालयको शौचालयमा रहेको रातो डस्टविनमा छोड्ने हो । उक्त सुन त्यहाँ छोड्ने काम मिन वहादुर घलेले भने अनुसार गरेको हुँ । त्यहाँबाट कसले लैजान्छ मलाई थाहा छैन ।

मैले दुबईमा प्रयोग गर्ने सिमको नम्बर ९७१५…..६५ वा ९७२८२…..९४ हो र सिम मेरै नाममा छ । म सँग दुईवटा सिम कार्ड छन् । पहिलेको सिम कार्ड लक भएक ले अर्को सिम कार्ड किनेको हुँ । उक्त नम्बर मिनबहादुर घलेलाई दिनको लागी मैले दुवईबाट फोन गरेर जानकारी गराएको हुँ । मिनबहादुर घलेले पुरानो सिम पनि पुनः सक्रिय गराउन निर्देशन दिएपछि मैले सो सिम पनि सक्रिय बनाएको छु ।

मलाई युएइको भिसा र टिकट मिनबहादुर घलेले उपलब्ध गराएका हुन् । उक्त कार्यमा लाग्ने सम्पूर्ण रकम मलाई मिन बहादुर घलेले उपलब्ध गराउने गर्दछन्। उक्त १४ केजी सुन मलाई दुवईमा एक जना अपरिचित भारतीय मुलको व्यक्तिले गोल्ड क्वेस्ट मार्केटको गेट नम्बर २ मा फोन गरेर बोलाएपछि दुवईको ५ दिराम (टोकन) भिडाएर उपलब्ध गराएका हुन् ।


क्लिकमान्डु