दूग्ध किसानको भुक्तानी तत्काल दिन अर्थमन्त्रीको निर्देशन, सबै किसानले पैसा पाउँछन् : अर्थमन्त्रालय




काठमाडौं । अर्थ मन्त्रालयले दूग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल निकासा गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए । भुक्तानी नपाएको भन्दै केही महिनायता दूग्ध किसान आन्दोलित छन् । किसानलाई भुक्तानीका लागि दूग्ध विकास संस्थान (डिडीसी)ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो ।

अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन । मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन् । ‘देशभरका हजारौं किसान भुक्तानी नपाएर तड्किएको अवस्था रहेछ । राज्य जनताको अभिभावक भएकाले किसानका पीडा हेरेर बस्न सक्दैन । विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ’, पुनले भने ।

पुनले राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायी लगायतको भुक्तानी रोक्न नमिल्ने स्पष्ट गरे । जनतालाई डेलीभरीको महसुस गराउनकै लागि आफ्नो कुर्सी सुरक्षित हुँदाहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासमीकरण बदलेको उल्लेख गर्दै पुनले ‘केही गरौं’ भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई बुझेर आफूले काम थालिसकेको बताए ।

उनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो । चालु आर्थिक वर्षमा ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ ।

मन्त्री पुनले बजेट समर्पणका लागि शुक्रबारै पत्राचार गर्न कृषीमन्त्री र सचिवहरुलाई भनेका छन् । मन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दूग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने सचिव डा घिमिरले जानकारी दिए ।


क्लिकमान्डु