सार्वजनिक वित्तको अवस्था खराब छ, सुधारको लागि गम्भीर हुनुपर्छ: स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका अर्थविद् डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैंठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उपसभापति वाग्लले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै त्यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए ।

डा. वाग्लले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनीय रहेको बताए । चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै उनले चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको उल्लेख गरे ।

राजस्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै वाग्लेले लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए । निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्री भएको उनको आरोप छ ।

गत वर्ष आफूले अर्थमन्त्रीलाई भनेका कुराहरु सत्य सावित भएको बताउँदै उनले सरकारको सार्वजनिक वित्तको अवस्था खराब भएकाले सुधारको लागि गम्भीर हुन आवश्यक रहेको बताए ।

आगमी बजेटमा सरकारले विकासलाई स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राखे । उनले बजेटको सिद्धान्त र प्राथमिकता प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गरे ।

उनले दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने उनले बताए । औद्योगिकीकरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट र अठोट सरकारसँग हुनुपर्ने उनले बताए । उनले बजेटको सिद्धान्त र प्राथमिकतालाई पुनःलेखन नगर्दा पनि हुने भन्दै नीति तथा कार्यक्रम र बजेट वास्तविक धरातलका आधारमा ल्याउन सुझाव दिए ।


क्लिकमान्डु