लगानीकर्ताले सरकारलाई अनुमोदन गरेको भनेर प्रधानमन्त्रीले भनेकै दिन घट्यो सेयर बजार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको दिन नै सेयर बजारमा गिरावट आएको छ ।

प्रचण्डले विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई सम्बोधन गर्दै पुँजीबजारमा आएको सकारात्मक परिवर्तन सरकारप्रति जनअनुमोदन भएको उदघोष गरेका थिए । तर उनले उक्त कुरा गरेकै दिन बजारमा भने गिरावट देखिएको छ ।

उनले सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई आफुले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको बताएका थिए । त्यही दिन भने बजारमा २.४८ अंकको गिरावट देखियो । आज बजार २.४८ अंकले घटेर २ हजार १०८.७२ बिन्दु कायम भएको छ ।

३१० कम्पनीका १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर ७३ हजार ५ सय ६ पटक खरिद बिक्री हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा विकास बैंक समूह ०.३५, वित्त समूह २.३२, जीवन बीमा ०.०९, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.४० र अन्य समूह ०.४६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ ०.१०, होटल तथा पर्यटन १.१४, जलविद्युत् १.०९, लगानी ०.०७, उत्पादन तथा प्रशोधन ०.१४, निर्जीवन बीमा ०.५५ र अन्य समूह ०.११ प्रतिशतले घटेका छन् ।

सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ५८ प्रतिशतले बढेको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै २५ करोड ५३ लाख ८३ हजार छ सय ६२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आठ लाख ४६ हजार एक सय ४६ कित्ता शेयर किनबेच भएको छ ।


क्लिकमान्डु