तीन प्रदेश प्रमुख बर्खास्त, नयाँ तीनै जना एमालेका सिफारिस



काठमान्डु । सरकारले मधेस, गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुख हटाउने निर्णय गरेकाे छ ।

साेमबार बसेकाे मन्त्री परिषद्को वैठकले तीन प्रदेश प्रमुख हटाउने सिफारिस गर्ने भएकाे हाे ।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, मधेसका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशी थिए ।

सरकारले बर्खास्त गरेका तीनै जना प्रदेश प्रमुख नेपाली कांग्रेसको कोटामा नियुक्त भएका थिए । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७८ साउनमा तीनै जना प्रदेश प्रमुख नियुक्त भएका थिए ।

सरकारले मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मियाँलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपती समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नयाँ नियुक्तिका लागि सिफारिस भएका तीनैजना प्रदेश प्रमुखहरू नेकपा एमालेका हुन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने पदहरुमा नियुक्तिको लागि मधेसको लागि सुमित्रा भण्डारी, गण्डकीको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमको लागि नजिर मियाँ मनोनयनको लागि सिफारिस भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

त्यस्तै मन्त्रिपरिषद्का विभिन्न समितिहरु समेत बनाइएको छ ।

मन्त्री शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको बताइन् । त्यस्तै आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको उनले जानकारी दिइन् ।


क्लिकमान्डु