ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउँदै, चिरीबाबुले गरे शिलान्यास



काठमाडौं । ललितपुरस्थित चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुने भएको छ । सोमबार महानगर प्रमुख चिरीबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी अपाङ्गमैत्री आकाशे पुल निर्माणकार्यको शिलान्यास गरेका छन् ।

सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो । आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोडबलमा पुल निर्माणका लागि अनुमति लिएको प्रमुख महर्जनले बताए।

संविधानले व्यवस्था गरे बमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको भन्दै उनले तोकिएकै समयभित्र निर्माण कार्य पूरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिए ।

महानगरले ठेकेदार कम्पनी लामा प्रगति-मनि बुद्ध जेभी, काभ्रेसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।


क्लिकमान्डु