सेयरमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका मन्त्री पुनले नियामकसँग मागे बजार सुधारका योजना



काठमाडौं । अर्थमन्त्रीको पदभार ग्रहण गरेलगत्तै सेयर बजारका लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरेका बर्षमान पुनले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न नियामक निकायसँग सुझाव मागेका छन् ।

अर्थमन्त्रालयले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीसँग बजारमा देखिएका समस्या समाधान गर्न सुझाव मागेका छन् । सुझाव ७ दिनमा पठाउन भनिएको छ ।

‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एंव त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई ७ दिनभित्र कार्ययोजना पेश गर्नुहुुन माननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ’ पत्रमा भनिएको छ ।

मन्त्री पुनले बोर्ड, नेप्से, सिडिएससीसँग सुझाव मागेको भएपनि ब्रोकर, लगानीकर्तासँग भने सुझाव मागेका छैनन् । बजार सुधारका लागि बोर्ड, नेप्से, सिडिएससीसँगै लगानीकर्ता, ब्रोकरको सुझाव पनि महत्वपूर्ण हुने लगानीकर्ता बताउँछन् ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेलगत्तै सेयर बजारमा भएका नीतिगत विषयलाई करेक्सन गरेर अगाडि बढ्ने बताएका छन् ।

गत बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अहिले प्यानिक रहेका सेयर लगानीकर्तालाई राहत हुने काम गर्ने जानकारी गराएका थिए ।

मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने जानकारी गराए । अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गर्नुपर्ने उनको तर्क छ ।

‘सेयर बजारमा बेलाबेला तलमाथि भइरहन्छ । सेयर बजारमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ । त्यहाँ ६० लाखभन्दा धेरै ग्राहकहरू, सेयर होल्डरहरू रहेको अवस्था छ’ उनले भनेका थिए ‘यो क्षेत्र ६० लाखको काम व्यवहार र भविष्यसँग जोडिएको क्षेत्र हो ।’


क्लिकमान्डु