समानान्तर निर्माण सेवालाई कालोसूचीमा राख्न काठमाडौं महानगरको पत्राचार



काठमाडौं । काठमाडौं महानगरपालिकाले समानान्तर निर्माण सेवालाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ ।

महानगरमा फाल्गुन २१ गते प्रमुख प्रशासकिय अधिकृत स्तरीय निर्णयअनुसार उक्त कम्पनीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्रचार गर्दै तीन वर्षका लागि कालोसूचीमा राख्न सिफारिस गरिएको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार सो निर्माण सेवा प्रालिले तथ्य बंग्याई झुक्काई विवरण पेस गरेकाले तीन वर्षका लागि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो ।

काठमाडौं महानगरपालिकाले आह्वान गरेको ठेक्का नं. ०६–२७–०८०–८१ एनसीबीडब्ल्यू–केएमसीबाट सामाखुसी कोरिडोरमा वसुन्धरादेखि मेह्पीसम्म ढल निर्माण कार्यको ठेक्कामा समानान्तरले गलत विवरण पेस गरेको थियो ।

काठमाडौं महानगरपालिकासँगको विवादसँग सम्बन्धित विषय नखुलाई तथ्य बंग्याई झुक्काई कार्यालयलाई विवरण पेस गरेको देखिएपछि समानान्तरको कागजात महानगरले रद्ध गरेको थियो ।


क्लिकमान्डु