धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब कायम, सूचीकृत कम्पनीको संख्या २७१



काठमाडौं । २०८० माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको छ । २०७९ माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड रहेको थियो ।

२०८० माघ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ माघमा सूचीकृत कम्पनीहरूको संख्या २४६ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।

नेप्सेमा २०८० माघ मसान्तमा सूचीकृत ८ अर्ब २१ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब १३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ६५ अर्ब ८६ करोड रुपैयाँ साधारण सेयर, १० अर्ब ५९ करोड रुपैयाँ बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँ हकप्रद सेयर र ३ करोड रुपैयाँ एफपीओ गरी कुल ८२ अर्ब ५७ करोड थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब २ करोड रुपैयाँ डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँ म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँ धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।


क्लिकमान्डु