सुदूरपश्चिमबारे क्याप्टेन वेद उप्रेतीको पुस्तक लोकापर्ण



काठमाडौं । क्याप्टेन वेद उप्रेतीको कृति ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’को लोकार्पण गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण गर्दै कांग्रेस सभापति देउवाले क्याप्टेन उप्रेतीको पुस्तकले सुदूरपश्चिमको विकासको खाका चित्रण गरेको र नेपालको पर्यटन तथा पूर्वाधार विकासमा पनि सहयोगी बन्ने विश्वास लिए ।

लेखक उप्रेतीले १० वर्षको प्रयासपछि सुदूरपश्चिमको वास्तविक चित्रण गर्ने किताव पाठकसामु ल्याउन सकिएको बताए ।

पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिने तस्वीरसहितका विवरण प्रस्तुत गरिएका छन् ।

१२० पृष्ठको पुस्तकमा लेखक उप्रेतीले विभिन्न समयमा कैद गरेका ९४ रंगिन तस्वीर समावेश छन् । पुस्तकमा सुदूरपश्चिमको भौगोलिक अवस्था विकट भए पनि आफैँमा भव्य रहेको चित्रण गरिएको छ।

नेपाली र अंग्रेजी दुवै भाषामा विषयवस्तुको वर्णन गरिएको यो पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने जनाइएको छ ।


क्लिकमान्डु