सहकारी संस्थामा पनि दुर्गा प्रसाई आतंक, समयै ऋण भुक्तानी नगरे सम्पत्ति रोक्का गर्ने सरकारको तयारी



काठमाडौं । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्था, सहकारी संस्था लगायतबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न भनेपछि त्यसको असर सहकारी संस्थाहरुमा पनि परेको छ ।

करिब १ बर्षदेखि प्रसाईले बैंकबाट लिएको ऋण नतिर्नु भन्दै ऋणीहरुलाई उचाल्ने काम गरिरहेका छन् । समय समयमा आन्दोनल समेत गराउने गरेका छन् । कतिपय ठाउँमा प्रसाईकै कारण बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई समेत हातपात हुने गरेको छ ।

त्यसकाे असर अहिले सहकारी सस्थामा पनि पर्न थालेको छ ।

सरकारी नियकाले अहिले सूचना नै निकालेर त्यस्ता भ्रामक र गैह्रजिम्मेवार अभिव्यक्तिको पछि नलागनी ऋणमा नै भुक्तानी गर्न भनेको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीबाट लिएको ऋण समयमै भुक्तानी गर्न अपिल गरेको छ ।

‘सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने सावा तथा व्याज विभिन्न बहानाबाजी एवं केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको छ’ सूचनामा उल्लेख छ ।

सूचनामा समयमा नै कर्जा भुक्तानी नगरेमा सम्पत्ति रोक्का राख्ने उल्लेख छ । ‘ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने छ’ भन्ने रहेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको सावा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न समेत अपिल गरेको छ ।
मन्त्रालयले प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको वर्खिलाप नहुने गरी कर्जा चुक्ता गर्न अनुरोध गरेको हो ।


क्लिकमान्डु