महाशिवरात्रि पर्व मनाउन पशुपतिनाथ जाँदै हुनुहुन्छ ? यी हुन् सवारी साधन पार्किङ गर्ने स्थान



काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ ।

महाशिवरात्रिमा भगवान् शिवको पूजा-आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ ।

भिड बढी भएपछि ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गर्ने जनाएको छ । दर्शनार्थीलाई पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगङ्गा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ । विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनकोसमेत व्यवस्था मिलाइएको जनाइएको छ ।

सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिइए कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ गाँजा, भाङजस्ता पदार्थको बिक्री वितरण एवं ओसारपसार र भण्डारण तथा सेवन नगर्न आग्रह गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको दर्शन तथा पूजा आराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको जनाएको छ । बत्तिसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला-पिङगलास्थान गेट हुँदै वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ ।

यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, विमानस्थल, तिलगङ्गा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ । साथै जोरपाटी, कपन, महाँकाल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तर ढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ ।


क्लिकमान्डु