हामीलाई पनि सरकारमा लैजानोस् भन्न चाहिँ जाँदैनौं : झलनाथ खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धनमा आफ्नो पार्टी पनि सहभागी हुन सक्ने बताएका छन् ।

सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताए ।

मंगलबार अपराह्न डल्लुस्थित निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीम खनालले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्तसमेत राखे ।

बुधवार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिए ।

सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान थियो । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने बताए ।

खनालले यसो भने

अब अहिले जुनजुन पार्टीहरुको बीचमा एउटा समझदारी बनेर यो परिवर्तनको क्रम शुरु भएको छ । त्यसमा औपचारिक रुपले हाम्रो पार्टी छैन । र व्यक्तिव्यक्तिले के के भुमिका खेले होलान् । त्यो भिन्दै कुरा भयो । तर औपचारिक रुपमा पार्टीलाई यस प्रोसेसमा संलग्न नगराइएको परिस्थिति निर्माण भएको हुनाले अब हामीले सामान्यतया यो घटनाक्रमलाई बिरोध गर्दैनौं । र हामी यो घटनाक्रमलाई गहिरोसँग वाच गरिरहेका छौं । विश्लेषण पनि गर्दैछौं ।

यदि यो प्रोसेसमा हाम्रो पार्टीलाई संलग्न गर्नुपर्छ भन्ने आवश्यकता यो परिवर्तन गर्ने पार्टीहरुको बीचमा त्यो समझदारी बन्यो । हामीसँग पनि वार्ता भयो । र एउटा सम्मानजनक ढंगले सहमती गरेर जाउ भन्ने खालको कुरा आयो भने हामी त्यसलाई अस्वीकार गर्दैनौं । यसलाई सकारात्मक ढंगले नै लिन्छौं । तर हामीलाई संलग्न गरिदिनोस् भनेर त्यो याचना गर्न चाहीँ जाँदैनौं ।

हाम्रो पार्टी एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न पार्टी हो । र हामी यो देशलाई समाजवादतर्फ लैजानुपर्छ भन्ने कुरामा अत्यन्त दृढ छौं । र, अहिले यो जे तन्त्र आएको छ । यो पुँजीवादी लोकतन्त्र हो ।

यो लोकतन्त्रले जनताका समग्र समस्या समाधान गर्र्नै सक्दैन । जबसम्म हामी समाजवादमा पुग्न सक्दैनौं, तबसम्म न आजका यी शोषण अन्त्य हुन्छन, न विभेद अन्त्य हुन्छ । न भ्रष्टाचार अन्त्य हुन्छ । न बेरोजगारी अन्त्य हुन्छ । न अर्थतन्त्रमा गति आउँछ ? अथवा न उत्पादक शक्तिहरुले विकास गर्न पाउँछन् । न राष्ट्रियता नै सुदृढ हुन्छ । त्यसो हुनाले समाजवादको बाटोतर्फ जानुपर्छ भन्ने कुरामा हाम्रो पार्टी दृढ छ । र त्यो ढंगले हामी अगाडि बढ्छौं । तर हामी साझा सवालमा वामपन्थी एकता गरेर जानुपर्छ भन्ने कुरामा उत्तिकै दृढ छौं । र साझा सवाल हामीमाझ प्रचुर विद्यमान छन् ।

यी कुराहरुमा एकताका लागि हाम्रो प्रयत्न फेरि पनि जारी रहन्छ । हामी उहाँहरुले औपचारिक रुपले हाम्रो पार्टीलाई पनि सरकारमा संलग्न गर्नेकुरा गर्नुभयो । सम्मानजनक ढंगले हाम्रो पार्टीसँग वार्ता भयो । र हामी नीतिगत कुरामा, कार्यक्रमिक कुराहरुमा, योजनाका कुराहरुमा र भिजनका कुराहरुमा यसरी जान्छौं भन्ने कुरा हामी बीचमा भयो भने हामी सरकारमा संलग्न भएर पनि जान्छौं ।


क्लिकमान्डु