वर्तमान गठबन्धनका सूत्रधार ओली नै हुन्, गठबन्धन टिकाउन उनले व्यवहार सुधार्नुपर्छः वामदेव



काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताएका छन् ।

सोमाबार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित गठबन्धन बनेकोमा आफूलाई खुसी लागेको भन्दै यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने गौतमले बताए ।

अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिर गठबन्धन देखाउनु नहुने गौतमको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतमले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने बताए ।

अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिए । कांग्रेस पनि विपीको सिद्धान्तबाट विचलित नभइ आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

कम्युनिष्टहरुमा एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि उनको भनाइ छ ।

अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभइ ओली नै रहेको गौतमको दाबी छ ।

गौतमले यसो भने

अप्रत्याशित हो । हिजोको सत्ता गठबन्धनको परिवर्तन र नयाँ सत्ता गठबन्धनको स्थापना अप्रत्याशित छ । यो कसैले चाहेका थिएनन् । एकातिर प्रधानमन्त्री छँदैछन्, त्यहाँ पहिलो पनि दुई महिना जति केपी ओलीको गठबन्धनमा सामेल भएर प्रधानमन्त्री बन्नुभएको व्यक्ति । यहाँ प्रधानमन्त्री भएर काम गरिरहनुभएको छ । त्यस्तो अवस्थामा, त्यसरी गठबन्धन तोडेर फेरि अर्कोतिर जान सक्नुहुन्छ भनेर कसले कल्पना गरेको हुन्छ र ? सबैको निम्ति अप्रत्याशित भयो ।

यस्तो घटनाको निम्ति वातावरण धेरै पहिलादेखि बनिरहेको हुन्छ । सिर्जना हुने अलि लामो समय हुन्छ । तर घटना स्वाट्ट घट्दा अप्रत्याशित लाग्छ । कांग्रेस कांग्रेस भएरै अघि बढ्नुपर्छ, बिपीको विचारधारा लिएरै कांग्रेस अघि बढ्नुपर्छ । कम्युनिष्ट कम्युनिष्ट भएरै अघि बढ्नुपर्छ । आफैँ जनताको बीचमा जानुपर्छ ।

जनतामा प्रतिवद्ध हुनुपर्छ, जनताका कामहरु गर्नेगरी आउनुपर्छ । कांग्रेस पनि त्यही किसिमले आउनुपर्छ । अहिले राजनीतिक अभिष्ट के देखियो भने कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिन्छ भन्ने विषय बन्न सक्छ । नेपाली कांग्रेससँग गएपछि त्यो बन्दैन । नेपाली कांग्रेस नयाँ पुँजीवादी व्यवस्थाको वकालत गर्ने पार्टी हो । पुँजीवाद सहितको समाजवाद निर्माण गर्ने बाटोमा नेपालका कम्युनिष्टहरु जानुपर्छ । त्यो परिस्थिति सिर्जना भएको छ ।

जनतासँग मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री पाउनको निम्ति जे पनि गर्ने, त्यस्तो किसिमको गर्नु हुँदैन । अहिले पनि कम्युनिष्ट र कांग्रेस मिलेर जाने स्थिति छ । यो स्थिति अन्त्य भइसकेको छैन । मिल्ने स्थिति पनि तुरुन्तै बन्छ र छुट्टिने स्थिति पनि तुरुन्तै बन्छ । अहिलेलाई यसलाई सकारात्मक ढंगले लिनुपर्छ ।

कम्युनिष्ट मिलुन् र कम्युनिष्टको विचारधारबमोजिम अघि बढुन् । अहिलेको गठबन्धनको प्रमुख कारण प्रधानमन्त्री होइन, केपी शर्मा ओली हो । उहाँ २०८४ भन्दा पहिला कम्युनिष्टहरुलाई एकतावद्ध गर्दै एउटा शक्तिको रुपमा अघि सार्न चाहनुहुन्छ । त्यसको निम्ति अरुतिर भन्दा त मुख्य पार्टी नेकपा (माओवादी केन्द्र) नै हो एमाले पछि । यि दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड ओलीको हो ।

अलिअलि खटपट भइरहेको कांग्रेसका नयाँनयाँ नेताहरुले प्रधानमन्त्रीको आलोचना गर्ने, प्रधानमन्त्री छोडेर जाउ, केही मतलव छैन, यस्ता प्रधानमन्त्री फेरि अर्को हुन्छ, भन्नेकुराहरु उठाउने, शेरबहादुरजी चुप लागेर बस्ने र मौका पर्‍यो भने नयाँ केटाहरुलाई उचाल्दिने गरेकाले प्रचण्डजीको मन बिग्रिएको होला । उहाँले पहिला पनि केपी ओलीलाई छोड्न चाहनुभएको होइन, केपी ओलीको व्यवहारका कारणले उहाँ जानुभयो ।

संसदको क्याबिनमा प्रधानमन्त्रीको क्याबिन हुन्छ, त्यो क्याबिनमा प्रधानमन्त्रीको कुर्सी छ, त्यो कुर्सीमा गएर बसिदिएर प्रधानमन्त्रीलाई उ पर राख्ने, आफू प्रधानमन्त्री बस्ने कुर्सीमा बसेको छ । फेरि पत्रपत्रिका आदिमा आउँछ । गल्ती गरिएछ पनि नभन्ने । भाषण गर्दा पुरानो अवस्थाका कुराहरु कोट्याउने, मैले गरेको ठिकै थियो भन्ने । आफूबाट आफैँ हट्ने स्थिति भयो । अहिले पनि त्यस्तै भयो भने स्थिति फरक हुन्छ । किनभने कांग्रेसहरु चेतेका छन् । जे भन्छन् पाँचै वर्ष प्रधानमन्त्री प्रचण्डलाई भनेर हातखुट्टा सबैले सही छाप दिन तयार हुन्छन् ।

केपी ओलीको व्यवहार, छुचो व्यवहार, अपमान गर्ने, कसैलाई पनि अपमान गर्ने, होच्याउनुपर्ने, आफू बाहेक सबै नराम्रो हुन् भन्ने पार्ने त्यस्तो व्यवहार हुन्छ, त्यसले उहाँसँगै गएकाहरु सधैँभर अपमानित महशुस गर्दछन् । केपी ओली, शेरबहादुर, प्रचण्डको व्यक्तित्व एकै हो । हामी एकै हौँ भन्नुपर्छ नि । त्यो नगर्नाले नै यो सबै बिग्रिएको छ ।

अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिष्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भूल सुधार गर्नैपर्छ । केपी ओलीकै कारण काखमा पुगेका प्रचण्ड फुत्किएर फेरि कांग्रेसतिर जानुपर्ने स्थिति किन सिर्जना भयो भन्दा प्रचण्डको व्यक्तित्वलाई कहिल्यै सम्मान गर्नुभएन । प्रधानमन्त्री भएको बेलामा सबैभन्दा माथिल्लो तहको व्यक्तित्व छ उहाँको भन्ने ठान्नुपर्छ । उहाँ बस्ने कुर्सीमा बस्दिने, आत्मलोचना छैन । व्यक्तित्वमा आघात पुगेपछि कसैले मान्दैन ।

उहाँले आफैँ प्रचण्ड हुन्जेलसम्म उथलपुथल हुन्छ, भइरहन्छ भन्नुभयो, त्यसले यतातिर छोडेर उतातिर जान सक्नुहुन्छ भन्ने सन्देश दिएको हो की भन्ने परेको छ । केपी ओली र प्रचण्डले आफूलाई सहमत गराउनसक्ने, संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरेपछि कुनै जोखिम छैन । जनतामा लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ ।

उत्पादन र निर्माणमा विदेश गएका ६५ लाख सम्मका व्यक्तिलाई तुरुन्तै रोजगारी दिनेगरी कार्यक्रम ल्याउनुपर्छ । केपी ओलीले प्रचण्डको सम्मान गर्न जान्नुस् । प्रधानमन्त्री हुँदासम्म प्रधानमन्त्रीको र प्रधानमन्त्री नहुँदा बेलामा आफूजस्तै भूमिका र इतिहास भएको व्यक्तिको महत्व घटाउन हुँदैन । र प्रधानमन्त्रीलाई यताउति अहिलेको जस्तो अब गर्नु हुँदैन ।


क्लिकमान्डु