नयाँ गठबन्धनबाट आज मन्त्री नबन्ने भएपछि रवि लामिछाने असन्तुष्ट बनेका हुन् ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले नयाँ गठबन्धनमा पार्टी सभापित रवि लामिछाने आज सरकारमा सहभागी नहुने कुरा कुनै असन्तुष्टीले नभएको बताएका छन् ।

नेकपा एमाले माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धनमा सहभागी हुने निर्णय गरिसकेको रास्वपा सभापति लामिछानेको नेतृत्वमा आजै सरकारमा सहभागी हुने तयारी थियो । तर अन्तिम चरणमा आजको मन्त्रिमण्डल विस्तारका लागि उनी नगइ उपसभापति डीपी अर्याल सहभागी हुँदैछन् ।

उनलाई उपप्रधानसहित गृहमन्त्री दिन प्रधानमन्त्री पुष्पकमल दाहाल तयार रहेको जनाइएको छ ।

झाले लामिछाने आज सरकारमा नजानु रास्वपाको असन्तुष्टी र बिरोध नभएको बताए ।

‘सभापतिजी आज सरकारमा नजानु रास्वपाको असन्तुष्टी र बिरोध होइन,’ उनले भने, ‘गठबन्धन भनेपछि त्यसमा सहभागी हुने अन्य दलहरुको तयारीलाई पनि हेर्नुपर्ने हुन्छ, हामी पछि हटेको होइन ।’

गठबन्धनका अन्य दलले पनि आन्तरिक तयारी गर्न बाँकी रहेकाले आजै पूर्ण आकारमा सरकार नबनेको उनले बताए । अन्य दलबाट सरकारमा सहभागी हुने नेता, बरियताक्रम र पोर्टफोलियो हेरेर निर्णयमा पुग्ने उनले बताए ।

त्यसका लागि पार्टीमा बैठक बस्ने उनले बताए । उनले आफ्नो दलले ४ वटा मन्त्री पाउने दाबी गरे ।

‘सरकारमा कति पद चाहिन्छ भन्ने दाबीका लागि व्यवहारिक, सैद्धान्तिक र प्राविधिक पक्ष हेर्नुपर्छ को को सहभागी हुन्छन् त्यो पनि हेर्नुपर्छ । रास्वपाले ४ वटा मन्त्रालय पाउँछ ।’

बाँकी मन्त्रालय र मन्त्रीबारे भोलि वा पर्सीसम्म टुंगो लाग्ने उनले बताए ।


क्लिकमान्डु