संसदमा प्रधानमन्त्री र मन्त्रीहरुको किन भयो खोजी ?



काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरुको खोजी भएको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री र मन्त्रीहरुले सभामुखले पटक पटक गरेको रुलिङलाई वेवास्ता गर्दै हराएको आरोप लगाएको हो । बैठकको आकस्मिक समयमा एमाले सांसद सूर्य थापाले प्रधानमन्त्रीलाई खोज्न सभामुखको ध्यानाकर्षण गराए ।

फागुन ६ गतेदेखि संसदमा उठेका विषयमा जवाफ दिन सभामुखले पटक पटक रुलिङ गरेको भए पनि प्रधानमन्त्री र मन्त्रीहरुले जवाफ नदिएको भन्दै सांसद थापाले उनीहरुको खोजीका लागि समिति बनाउनु पर्ने हो भन्दै प्रश्न गरे ।

‘संसद्‌मा उठेका विषयमा जवाफ दिन सभामुखबाट पटक-पटक रुलिङ भएको छ । यसअघिको बैठकमा सभामुखज्यूले आगामी बैठकमा प्रधानमन्त्रीलाई जवाफ दिन​ रुलिङ गर्नुभएको थियो,’ थापाले भने, ‘ प्रधानमन्त्रीज्यू छोरीको नगरपालिकामा हुनुहुन्छ भन्ने मिडियाबाट थाहा पाइयो । प्रधानमन्त्री र मन्त्रीजीको खोजी गर्नुपर्‍यो सभामुख महोदय । प्रधानमन्त्रीको खोजीका लागि संसद्‌ र समितिले बनाउनु पर्ने हो कि के हो ?​’

प्रमुख प्रतिपक्षी एमालेसहितका प्रतिपक्षीहरुले संसदमा केही मन्त्रीहरुको राजीनामा माग गर्दै आएका छन् । बालकुमारी घटनामा सरकारी छानबिन आयोगले दोषी ठहर गरेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र लुम्बिनीको रामग्राम क्षेत्रलाई प्रधानमन्त्रीका घरबेटीको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सुदन किराँतीको राजीनामा माग हुँदै आएको छ ।

प्रधानमन्त्रीले केही दिनअघि बालकुमारी घटनाबारे अध्ययन गरेर कारबाही गर्ने संसदमा बताएको भए पनि अहिलेसम्म कारबाही हुन सकेको छैन । सरकारले उक्त प्रतिवदेन अध्ययनका लागि मन्त्रीहरु सम्मिलित एक समिति बनाएको छ


क्लिकमान्डु