देउवाको चिनामा ७ पटक प्रधानमन्त्रीको योग देखिएको भन्दै मन्त्री किराँतीको टिप्पणी: पदभन्दा योगदान मुख्य



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपालमा पद छाड्न कोही पनि तयार हुने नगरेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बनेसकेका छन् । उनले केही समयअघि आफ्नो चिनमा ७ पटक प्रधानमन्त्री लेखेको बताएका थिए । वर्तमान सत्ता गठबन्धनमा भएको सहमति अनुसार उनी पुन: प्रधानमन्त्री बन्ने जनाइएको छ ।

यसलाई लक्षित गर्दै पर्यटन मन्त्री किराँतीले नेपालमा प्रधानमन्त्री मन्त्री लगायतको नेतृत्वमा रहेकाहरु लामो समयसम्म पदमा रहन चाहने गरेको बताए ।

बिहीबार वायुसेवा सञ्चालक संघको कार्यक्रममा मन्त्री किराँतीले पद छोड्नेले सानो मन गर्न नहुने बताए ।

गौतमबुद्धले दरबार त्यागेर ठूलो भएको, नेलशन मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो भएको भन्दै उनले देउवा ५ पटक प्रधानमन्त्री भइसकेको र ७ पटक चिनामा देखिए पनि अत्तोपत्तो नभएको बताए ।

वायु सेवा सञ्चालक संघमा पनि रामेश्वर थापाले लामो समय नेतृत्व गरेको प्रसंगमा उनले कसैले पनि पद छाड्न नखोज्नु राम्रो नभएको बताए ।

‘चार पटक रामेश्वर सरले सञ्चालन गर्नुभएछ । यसको जन्मकालदेखि अहिलेसम्म २३ वर्ष भएछ । २३ वर्षको अवधिमा । हुनतः नेपालमा सबै पदहरु लामै खाने चलन छ । हाम्रो देशमा मन्त्री पनि लामै खान पाए हुन्थ्यो, प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो । तर यो आवश्यकता र बाध्यताले पनि हुनसक्छ’ उनले भने ।

मन्त्री किराँतीले पद मात्रै ठूलो कुरा नभएको र जीवनमा गरेका योगदान मुख्य हुने बताए ।

‘पद छोड्नेले सानो मन गर्नु पर्दैन । त्यागेर पनि ठूलो भइन्छ भन्नेकुरा संसारमा देखिएको छ । गौतमबुद्धले दरबार त्यागेर ठूलो हुनुभएको हो । नेलशन मण्डेला एक पटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो हुनुभएको हो । आज पनि अमर हुनुहुन्छ । तर यहाँ पाँच पटक प्रधानमन्त्री भइसक्यो । अत्तोपत्तो छैन । महात्मा गान्धी पनि त राष्ट्रपति,प्रधानमन्त्री हुनुभएन । त्यसकारण पद मात्रै ठूलो कुरा होइन । जीवनमा गरेका योगदान मुख्य कुरा हो’ उनले भने ।


क्लिकमान्डु