बैंकर तुलसीराम गौतमका पूराना ग्राहक थिए रविन्द्र चौलागाईं, विश्वासले पुर्‍यायो प्रहरी खोरमा



काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसहित बैंकका अर्का पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका मनोज न्यौपानेसहित १० जनालाई मंगलबार प्रहरीले पक्राउ गर्‍यो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंका विभिन्न कम्पनीमा धितोले खाम्नेभन्दा ९७ करोड रुपैयाँ बढी ऋण दिएको पाइएपछि पक्राउ गरिएको जनाएको छ । सीआईबीका अनुसार देउराली सहकारी गठी प्रकरणमा रविन्द्र चौलागाईं पुर्पक्षका लाथि थुनामै छन्, उनको बयानका आधारमा तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरुलाई पक्राउ गरिएको हो ।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले क्लिकमान्डुसँग भने, ‘१ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी कर्जा प्रवाह भएको छ ।’

पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालि लगायतका कम्पनीका नाममा चौलागाईंले तत्कालीन सेञ्चुरी बैंकबाट पटक-पटक ऋण लिएका थिए ।

सोही कर्जा प्रवाह गर्ने कार्यमा संलग्न सीईओसहित कर्मचारीहरु पक्राउ मनोज न्यौपाने, पूर्वसीईओ गौतम, राजेश भण्डारी, दिलिप बराल, सुबासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत रहेको सीआईबीले जनाएको छ ।

उनीहरुलाई उच्च अदालत पाटनबाट अनुसन्धानका लागि ७ सात थुनामा राख्ने अनुमति लिई गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

‘चौलागाईंले ब्यापार गर्न भन्दै कम्पनीका नाममा लिएको ऋण व्यक्तिगत रुपमा चलाएको भेटिएको प्रहरीको अनुसन्धानमा देखिएको छ’ प्रवक्ता बोगटीले भने ।

सेञ्चुरी बैंक गत वर्षको पुसमा प्रभु बैंकमा मर्ज भइसकेको छ । सेञ्चुरीका सीईओ मनोज न्यौपाने मर्जपछि प्रभुमा सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । न्यौपानेभन्दा अघि बैंकमा तुलसीराम गौतम सीईओ थिए । गौतमका पालमा सेञ्चुरीले रविन्द्रको कम्पनीलाई ऋण दिन थालेको थियो ।

गौतम माछापुच्छ्रे बैंकका पनि पूर्वसीईओ हुन् । त्यसबेलैदेखि चालागाईंलाई उनले ऋण दिन थालेका थिए । सुरुमा चौलागाईंले नियमितरुपमा ऋणको साँवा ब्याज तिरेका पनि थिए । गौतमले दिएको ऋण चौलागाईंले माछापुच्छ्र बैंकमा पहिल्यै चुक्ता गरिसकेका छन्।

‘राम्रो ग्राहक हो भनेर चौलागाईंलाई फेरि बैंकले बोलाएर १४ करो ऋण दियो, सुरुमा त तिरिरहेकै थिए तर पछि तिर्न सकेनन् र १८ करोड रुपैयाँमा बैंकले सुरक्षण राखेको धितो सकारेर गैरबैंकिङ सम्पत्ति बुक गरिसकेकेको छ,’ माछापुच्छ्रे बैंकका एक अधिकारीले भने ।

माछापुछ्रेमै चौलागाईंले १ अर्ब रुपैयाँजति ऋण मागेका थिए । तर, बैंकले उक्त ऋण दिन नसक्ने बताएपछि उनी सेञ्चुरी बैंकतर्फ लागे ।

गौतम र चौलागाईंको पहिल्यैदेखि राम्रो चिनाजान थियो । माछापुच्छ्रेमा आफू सीईओ हुँदा दिएको ऋण चौलागाईंले चुक्ता गरेपछि सेञ्चुरीमा सीईओ हुँदा गौतमले उनलाई बोलाएरै ऋण दिए । तर, त्यही ऋण अहिले उनै गौतमका लागि गलपासो बन्यो । मनोज न्यौपाने र चौलागाईंको चिनाजान ऋण दिन थालेपछि भएको थियो, तर त्यो चिनाजान निकै घनिष्ट बन्दै जाँदा मनोज न्यौपाने पनि कितो मूल्यांकन लगायतमा केही खुकुलो भए । जसकारण चौलागाईंले सेञ्चुरीबाट ठूलो ऋण लिन पाए ।

पछिल्लो सयम चौलागाईं अति महत्वाकांक्षा राख्न थाले । देउराली सहकारीका अध्यक्षसमेत रहेका चौलागाईंले बचतकर्ताले सहकारीमा जम्मा गरेको बचत आफूले व्यक्तिगत रुपमा चलाए । त्यो पैसाले जग्गा किने र जग्गा धितोमा राखेर व्यवसाय गर्ने भन्दै बैंकबाट ऋण लिए । सोही क्रममा काभ्रेपलाञ्चोक स्थायी घर भएका चौलागाईंले बैंकर गौतमका गाउँ झापाको शिबगञ्ज ७ मा जग्गा किन्न समेत भ्याए । ऋण लिनका लागि उनले उक्त जग्गा पनि धितोमा राखेका थिए ।

‘तुलसीराम गौतम इमानदार बैंकर हुन्, तर सेञ्चुरीमा उनलाई आक्रामक कर्जा विस्तार गर्नुपर्ने चुनौति थियो,’ सेञ्चुरी बैंककै एक पूर्वसिनियर कर्मचारीले भने, ‘सोही क्रममा माछापुच्छ्रेमै हुँदाका ग्राहक चौलागाईंलाई उनले सेञ्चुरी तानेका हुन् ।’

ब्यापार गर्ने मान्छे हो तिरिहाल्छ नि भनेर धितोमा केही कम्प्रमाइज गरेको कर्मचारीहरु बताउँछन् । चौलागाईंले दर्जन बढी कम्पनी खोलेका थिए । व्यापार, रियलइस्टेट, मदिराको डिलर, कृषि व्यवसाय गर्ने कम्पनी लगायत खोलेका थिए । चौलागाईंले समयमा कर्जा र कर्जाको साँवा ब्याज नतिरेपछि प्रभु बैंकले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिको धितो लिलामीको सूचना निकालेको थियो । दुईपटक धितो लिलामीको सूचना निकाल्दा पनि उक्त धितो बिक्री भएको छैन ।

रविन्द्रले आरआर ग्रुप अफ कम्पनी, श्री पूजा पोल्ट्री फार्म प्रालि, देउराली प्रोपर्टिज प्रालि, मून भेन्चर इन्भेष्टमेन्ट प्रालि, आरआर रिसर्च एन्ड डेभलपमेन्ट प्रालि, पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्रीश्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि नामका कम्पनी खोले । यतिसम्म कि कतिपय कम्पनी ऋण लिने प्रयोजनका लागि कागजमा मात्रै सिमित रहेको पाइएको छ ।

यस विषयमा अनुसन्धानका लागि राष्ट्र बैंकले सीआईबीलाई पत्राचार गरेको छैन भने सीआईबीले पनि राष्ट्र बैंकलाई केही सोधेको छैन । बैंक सम्बन्धी अनुसन्धान गर्ने निकाय नेपाल राष्ट्र बैंक हो । सामान्ययता कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धा गर्न सीआईबीले राष्ट्र बैंकको सहयोग माग्नुपर्ने हो । तर, यो घटनामा सीआईबीले राष्ट्र बैंकलाई पूर्ण बेवास्ता गरेको छ ।

‘हामीले पक्राउ परेपछि समाचार हेरेर मात्रै थाहा पायौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले क्लिकमान्डुसँग भने ।

राष्ट्र बैंकलाई नसोधी सीआईबीले पक्राउ गरेको भन्दै बैंकरहरु आतंकित भएका छन् ।

‘यस्तै हो भने त जुनसुकै दिन जोसुकै बैंकर पक्राउ पर्न सक्छन्,राष्ट्र बैंकसँग कुनै छलफल नगरी प्रहरीले मात्रै हात हाल्नु गलत छ । किनभने, बैंकिंगको मर्म राष्ट्र बैंकले बुझ्छ, प्रहरीले बुझ्दैन ।’ बैंकर्स संघका एक पदाधिकारीले भने, ‘बैंकले दिएको कर्जा डुब्छ भनेर नै प्रोभिजन गर्ने व्यवस्था गरिएको हुन्छ । र, ब्यापार व्यवसाय गर्नेलाई ऋण दिन धितो होइन, ब्यापार र आम्दनीले खाम्नुपर्छ । ऋण दिनेबेलामा राम्रो ब्यापार गरिरहेको कम्पनीले पछि घाटामा पनि त जान सक्छ नि ।’

चौलागाईंले सेञ्चुरी लगायत माछापुच्छ्रे, एनआईसी एशिया, सिटिजन्स, मेगा, बैंकबाट ऋण लिएका थिए । माछापुच्छ्रे बैंकले गत वर्ष नै चौलागाईंको धितो गैरबैंकिङ सम्पत्तिका रुपमा सकार गरिसकेको छ भने सिटिजन्स बैंकले असूली गरिसकेको छ । बैंकिङ प्रणालीबाट चौलागाईंले ३ अर्ब ६८ करोड रुपैयाँ ऋण छन् ।

चौलागाईंले आफू अध्यक्ष भएको सहकारीका बचतकर्ताको रकमले जग्गा किन्ने र उक्त जग्गा बैंकमा धितोमा राखेर ऋण लिँदै आएका थिए ।पूजा मार्केंटिङको सञ्चालकमा पूजा खत्री रहेकी छिन् भने कर्जाको जमानतकर्तामा रविन्द्र चौलागाई रहेका छन् । खत्री चौलागाईंकी श्रीमति हुन् । यस्तै मार्केटिङको थप सञ्चालकमा राजेन्द्र खत्री र रविन्द्र चौलागाई रहेका छन् । जमानीमा शशी खत्री र पूजा खत्री रहेका छन् ।

ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थामा २० हजारभन्दा बढी बचकर्ताको ३ अर्बभन्दा बढी निक्षेप फिर्ता गरेको छैन । २०७५ सालदेखि नै साधारणसभा तथा नवीकरण नगरेको संस्थाले पछिल्लो २ वर्षयता बचतकर्ताको निक्षेप रकम फिर्ता गरेको थिएन ।

सहकारीका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा गत असोज १८ गते सीआईबीले चौलागाईं पक्राउ गरेको थियो । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि असार दोस्रो साता सहकारी विभागले थप अनुसन्धानका लागि देउराली बहुउद्देश्यीय सहकारीको फाइल सीआईबीमा दर्ता गराएको थियो । बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर पैसा संकलन गरेको सहकारी लामो समयदेखि सदस्यको पैसा फिर्ता गर्न नसकेर समस्यामा हो ।

ललितपुरको लामाटार, र चितवनमा आफ्नो ठूलो जग्गा रहेको र त्यो बेचेर निक्षेप फिर्ता गर्ने झुटो दाबी गर्ने चौलागाईंले ती जग्गाको मोलभन्दा दोब्बर ऋण तिनकै धितोमा निकालेका हुन् ।

चौलागाई आफूमात्रै फसेनन् हजारौं बचतकर्ता डुबाए भने १० जना बैंकरलाई प्रहरी खोरमा पुर्याए । अझै कतिलाई कहाँ पुर्याउने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।


क्लिकमान्डु